खबरमार्केट ब्युरो
असार १५,२०७९ गुल्मी :
गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले राज्यशक्तिको चरम दुरुपयोग गरेको नेकपा एमाले गुल्मीको ठहर छ ।
निर्वाचनमा कर्मचारी खटनपटन,प्रहरी ,प्रशासन र सबै शक्ति एमाले बिरुद्ध खनिएको समेत नेकपा एमालेका जिल्ला अध्यक्ष बालसिंह काउछाले आरोप लगाए ।
पार्टीले गत बैशाखको निर्वाचनमा भएका कमि कमजोरीहरुबाट शिक्षा लिदैँ आगामी निर्वाचनमा एकताबद्ध भएर लाग्ने समेत निष्कर्ष निकालेको छ ।
पार्टीले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु तथा उम्मेदवारहरुलाई असार महिना भित्र अभिमुखीकरण कार्यक्रम आयोजना पालिका भित्रकोकामलाई प्रभावकारी बनाउने जनाएको छ । एमाले गुल्मीले जिल्लाका स्थानीय तहमा भएका राम्र काममा रचनात्मक सहयोग गर्ने र नराम्रा कामको भण्डाफोर गर्ने निर्णय समेत गरेको पार्टी सचिब गणेश श्रीपालीले जानकारी दिए ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँगे्रसले एक नगरपालिका सहित पाँच स्थानीय तह , नेकपा माओवादी केन्द्रले चार स्थानीय तह र नेकपा एमालेले एक नगरपालिका सहित तीन स्थानीय तहको प्रमुखमा जीत हासिल गरेको छ ।
नेकपा एमाले गुल्मीले पार्टीभित्र अराजक तत्वहरुको अध्ययन गर्न ५ सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको जनाएको छ ।
मंगलबार तम्घासमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्र आन्तरिक असमझदारी , असन्तुष्टि,असहयोग मुख्य कारण रहेको भन्दै पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज जंग नेपालीको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।
पार्टीभित्रै रहेर संगठनात्मक अराजकताहरु प्रकट भएको भन्दै अध्ययन कार्यदल गठन गरिएको र अध्ययन कार्यदलको प्रतिवेदनको आधारमा प्रमाणीत भए कारवाही गर्ने काउछाले दाबी गरे ।