रामकृष्ण कडेल , जेठ ३० , गुल्मी । औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको आयोजनामा पदाधिकारी, पुर्व कार्यसमिति ,सल्लाहकार तथा सदस्यहरु बीच आइतबार वार्षिक कार्य योजना कार्यशाला गोष्ठी रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा भएको छ ।
“गुणयुक्त असरयुक्त जनसुरक्षित औषधिको आपूर्ति: हाम्रो प्रतिवद्घता ” भन्ने नारासहित स्थापना भएको संघले व्यवसायीहरुको दक्षता अभिवृद्धि गर्नेसंगै वर्षभरी संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ कार्यशाला गरेको हो ।
नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले कार्यशालाको उद्घाटन गर्दै गुल्मी शाखाले आफ्नो कार्यकालको सुरुवात मै कार्यशाला गोष्ठी गरि जग्गा ब्यवस्थापन र भवन निर्माणको कार्ययोजना सहित थुप्रै नविनतम कार्यक्रम ल्याई उदाहरणीय कार्य गरेको भन्दै संघले ब्यवसाय सङ्गै सामाजिक उत्तरदायित्वमा पनि बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । ज्ञवालिले शुभकामना मन्तव्य दिदै ब्यवसायीहरुले राष्ट्र विकासको निम्ति र हरेक प्रकारका प्राकृतिक प्रकोप तथा महामारीको बेला अग्र पङ्त्तिमा रहेर योगदान गरेको स्मरण गराउदै औषधि ब्यवसायीहरुलाई राज्यले कुनै पनि सहयोग नगरेकोमा दु:ख व्यक्त गर्नुभएको थियो ।
नेपाल औषधी व्यवसायी संघका गुल्मी शाखा अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कार्यालय प्रमुख युवराज घिमिरेले कार्यशाला गोष्ठीको उद्देश्य माथी प्रकाश पार्दै सस्थागत सुदृढीकरण , सस्थाको पहिचान ,स्थायित्व , व्यवसायीहरुको स्वमुल्याङ्कन , ब्यवसायीको नविकरणको विषयमा रहेको बताउनुभएको थियो । घिमिरेले संस्थागत सम्बन्ध बिस्तारलाई सधै प्राथमिकतामा राखेर अघि भएमा मुलभुत उद्येश्य हासिल हुनेमा आशाबादी रहेको पनि बताउनुभयो ।
कार्यशाला गोष्ठीले संघको भवन निर्माणका लागि जग्गा ब्यवस्थापन ,भवन निर्माण लगायतका ३४ वटा त्रीवर्षिय योजना पारित गरेको छ । संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली ज्ञवाली, प्रदेश कार्यालय प्रमुख , प्रदेश महासचिव लुकराज न्यौपाने लगाएतले कार्यशालामा सहभागिलाई सहजीकरण गरी सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन बाट जनप्रतिनिधिमा निर्वाचित संघका सदस्यहरु छत्रकोट बाट पिताम्बर अर्याल र रेसुङ्गा बाट राम प्रसाद मरासिनी , सल्लाहकार समितिका सदस्यहरू छत्र अधिकारी र लोक बहादुर ज्ञवाली , भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने औषधि ब्यवसायी एवम् संघका गुल्मी शाखाका कोषाध्यक्ष जुवाननन्द बेलबासे ,रेसुङ्गा बहुमुखी क्याम्पसको ब्यवस्थापन समितिमा निर्वाचित हुनुभएकी शाखाकी उपाध्यक्ष पार्वता थापा लगायतलाई सम्मान गरिएको थियो ।
केपि भण्डारीको संयोजन ,गुल्मी शाखा उपाध्यक्ष पार्वता थापाको स्वागत रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य शेर बहादुर थापा , कमल प्रसाद पाण्डे , संघका पुर्व अध्यक्ष महेश श्रेष्ठ , बिशिस्ट सल्लाहकार चुरामणी पन्थी , बिशिस्ट अतिथि , अतिथीहरु , प्रमुख अतिथी लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव गणेश श्रेष्ठले गर्नुभएको थियो ।