गाउँमै पशुका लागि स्वास्थ्य शिविर

0
281

जेठ १७,२०७९ पर्वत : पर्वतको पैयुँ गाउँपालिकामा पशुहरूको लागि पनि स्वास्थ्य शिविरको आयोजना गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजना तथा पैयुँ गाउँपालिका–१ टकलाकको समन्वयमा पशुहरूमा रहेको बाँझोपनको समस्या हल गर्ने, विभिन्न रोगहरूको जाँच, औषधि उपचार र औषधि वितरण सेवा सहितको पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो।

कृषकहरूले लगानी गरेर पशुपालन गर्दै आएको भए पनि ती पशुको स्वास्थ्य परीक्षण नहुँदा तथा बिरामी हुँदा पनि घरायसी उपचारमा अल्झिएर क्षति खेप्नुपरिरहेको अवस्था अन्त्य गर्ने प्रयास स्वरूप पशुको स्वास्थ्य शिविरको आयोजना गरिएको वडाध्यक्ष मीन प्रसाद न्यौपानेले बताए।

उक्त शिविरमा टकलाकका १२७ कृषकका ३५० भन्दा बढी चौपायाहरूका लागि औषधिहरू वितरण गरिएको छ। सामान्य बिरामी रहेका पशुहरूलाई लक्षणको आधारमा शिविरबाट औषधि वितरण गर्नुका साथै परामर्श गरिएको भए पनि स्वास्थ्यमा बढी समस्या रहेको पशुको गोठमा नै पुगेर परीक्षण गरिएको छ।

भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले व्यावसायिक रूपमा पशुपालन गरिरहेका कृषकहरूले पशु विज्ञको सल्लाह बमोजिम पशुको औषधोपचार गर्ने गरेको भए पनि निर्वाहको लागि मात्रै पशुपालन गरेका कृषकहरूले पनि यसमा चासो दिनुपर्ने बताए।

SHARE