गुल्मीका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ

0
375

गीता पाण्डे
जेठ ६ ,२०७९ गुल्मीः गुल्मीमा नवनिर्वाचित जनप्रतिधिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रवार रेसुंगा नगरपालिकाको सभाहलमा नव निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ लिएपछी उनीहरुले आफ्नो पालिकामा पुगेर उप–प्रमुख,वडा अध्यक्ष सहित निर्वाचित सदस्यलाई सामुहिक रुपमा आजै (शुक्रवार)पद तथा गोपनीयताको शपथ गराएर कार्यभार सम्हाल्नेछन् ।

नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले निर्वाचनमा मातदाता बीच गरेका प्रतिबद्धता अनुरुप काम गर्ने बताएका छन् ।

शपथ पश्चात कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले पालिका भित्रका नागरिकहरुलाई उत्पादनसंग जोड्ने र आत्म निर्भर बनाउनु नै पहिलो प्राथमिकता रहेको बताए ।
यस्तै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पालिकाभित्र परिणम देखिने गरी काम गर्ने प्रतिक्रिया दिए ।

मुसिकोट नगरपालिकाका नगर प्रमुख जीबन खरेलले पालिका भित्र रहेका अधुरा अपुरा योजनाहरुलाई सम्पन्न गर्ने र नयाँ योजनाका साथ अगाडी बढ्ने बताए ।

जिल्लामा ५ वटा स्थानीय तहमा नेपाली कांग्रेस, ४ वटामा माओवादी केन्द्र र ३ वटामा नेकपा एमालेले जितेको छ । जिल्लाभरका स्थानीय तह र ९३ वटा वडामा चार सय ८९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

SHARE