देशकै नमुना गाउँपालिका बनाउन धुर्कोटमा दोस्रो कार्यकालको उम्मेदवारी : भुपाल पोखरेल

0
544
पत्रकार भेटघाट कार्यक्रममा आफना भनाईहरु राख्दै गर्दाको तस्विर :खबरमार्केट

गीता पाण्डे
बैशाख १७,२०७९ गुल्मीः धुर्कोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार भुपाल पोखरेलले अधुरा र अपुरा कामहरु सम्पन्न गर्न आफनो उम्मेदवारी भएको बताउनुभएको छ ।
अघिल्लो कार्यकालमा आफूले गाउँपालिकाको बिकासका निम्ती जग बसालेको भन्दै त्यसलाई पूरा गर्न र देशकै नमुना गाउँपालिका बनाउन आफुले दोस्रो पटकका लागि पुनः उम्मेदवारी दिएको बताउनुभएको छ ।
नेकपा माओबादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएका पोखरेलले पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा युवाहरुबाट परिवर्तन सम्भब छ भन्ने उदाहरण यस अघिकै कार्यकालमा प्रमाणित भएको बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानिकरण अनुदानका लागि १७ सूचकका आधारमा मुल्याङकन गर्दा धुर्कोट गाउँपालिका देशमै तेस्रो भएको थियो । १०० अंकमा धुर्कोट गाउँपालिकाले ७६ दशमलव ५४ अंक ल्याएको थियो । दोस्रो हुने मुस्ताङको लोघेकर दामोकुण्ड गाउँपालिकाले ७७ दशमलव ११ अंक ल्याएको थियो भने पहिलो हुने डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७८ दशमलव ६९ अंक ल्याएको थियो ।

गाउँपालिकामा अघुरा कामहरु पुरा गर्नका लागि पुनः यहाँका स्थानीयहरुको माग अनुसार नै आफनो उम्मेदवारी भएको उहाँको दाबी छ ।
पाँच बर्षको कार्यकालमा आफूले गाउँपालिका भित्रका ८० प्रतिशत स्थानीयका घरमा एकघर एक धारा पुगेको ,गाउँपालिकालाई गुल्मी जिल्लामै पहिलो पटक खरको छानामुक्त गाउँपालिका घोषण गरेको, गाउँपालिकाको आफनो प्रशासकीय भबन संगै सभाहलहरु निर्माण गरेको बताउनुभयो ।

युवाहरुलाई गाउँमै ब्यवसायीक रुपमा कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउने ,सडक संजालहरुलाई स्तरोन्ती संगै कालोपत्रे गर्ने,बसाई सराइँको दरलाई कम गर्न सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय बनाई देशकै नमुना गाउँपालिका बनाउने उहाँले उद्घोष गर्नुभयो ।

उहाँको प्रतिस्पर्धामा नेपाली कांग्रेसका महेन्द्र भण्डारी अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ । अघिल्लो कार्यकालमा उहाँ नेपाली कांग्रेससंगको तालमेलबाट अध्यक्ष बन्नुभएको थियो ।
गुल्मीमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,चन्द्रकोट गाउँपालिकाकी उपाध्यक्ष , सत्यवती गाउँपालिकाका अध्यक्ष,मालिका गाउँपालिकाका अध्यक्ष ,मदाने र इश्मा गाउँपालिकाका उपाध्यक्ष र धुर्कोट गाउँपालिकाका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेद्वार बन्नु भएको छ ।

SHARE