यस्तो छ ललितपुरको गाउँदेखि सहरसम्मको चुनावी परिदृश्य

0
489

सूर्य सुवेदी
ललितपुर : बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामध्येएक जिल्ला हो ललितपुर । यो जिल्लाको केही क्षेत्रफलबाहेक अन्य भूभाग भौगोलिक हिसाबले विकट मानिन्छ । त्यही विकटताका कारण ललितपुरको दक्षिणी भेगलाई उपत्यकाको कर्णाली भन्ने गरिन्छ । यो जिल्ला राजनीतिक हिसाबले संघमा तीन क्षेत्र र प्रदेशमा ६ क्षेत्रहरु भएको जिल्ला हो । ललितपुरका ६ वटा स्थानीय तहहरुमध्ये एक महानगरपालिका, दुई वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेका छन्। तीन पालिका निकै सुगम र तीन पालिकाका दुर्गम भएकोले पनि ललितपुरको चुनावी परिदृश्यलाई निकै रोचक ढंगले हेरिन्छ ।

२०७४ को स्थानीय तहको नतिजा
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले एउटा महानगर, एउटा नगर र एउटा गाउँपालिका जितेको थियो । कांग्रेसले ललितपुर महानगर, गोदावारी नगरपालिका र बागमती गाउँपालिका जितेर पहिलो भएको हो ।

यस्तै नेकपा एमालेले एउटा नगरपालिका र एउटा गाउँपालिका जितेर दोस्रो भएको थियो । एमालेले महालक्ष्मी नगरपालिका र महाङ्काल गाउँपालिका जितेको थियो । यस्तै माओवादी केन्द्रले एउटा गाउँपालिका कोन्ज्योसोम मात्रै हात पारेको थियो ।

उपत्यकामा माओवादीले यहीँ एउटा पालिका मात्रै जित्न सकेको थियो र माओवादीको नाक जोगाउने पालिका भनेर पनि यसलाई चिनिन्छ । सरकारले २०७९ बैशाख ३० गते देशभरिका सम्पूर्ण स्थानीय तहको निर्वाचन तोकेको र बैशाख ११ र १२ गते मनोनयन दर्ता भएको कारण हरेक स्थानीय तहमा उमेदवार छान्ने र मनोनयन दर्ता गर्ने कार्य वैशाख १२ गते बेलुकी ५ बजेसम्म जारी रहनेछ । तर यो पटक २०७४ सालको जस्तो निर्वाचन हुने छैन र २०७४ को जस्तो मत परिणाम पनि आउने छैन । किनभने २०७४ सालमा केही स्थानीय तहमा पार्टीहरुले मोर्चाबन्दी गरेर निर्वाचन लडेका भए पनि अरु ठाउँमा एक्ला एक्लै प्रतिस्पर्धामा गएका थिए । तर यसपटक नेपाली कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनले एमाले र उसँग चुनावी मोर्चामा रहेका गठबन्धनको विरुद्ध निर्वाचन लड्ने छ ।

ललितपुर जिल्लामा दुई ठुला दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा कुन पार्टी कुन स्थानीय तहमा निर्वाचन लड्ने भनेर स्थानीय तह बाँडफाड गरिसकेका छन । ६ स्थानीय तहमध्ये एक महानगरपालिका, एक नगरपालिका र दुई गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनले निर्वाचन लड्ने तय गरेको छ भने एक नगरपालिका र एक गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन निर्वाचनमा जानेछ ।

गठबन्धनको भागबन्डा
ललितपुर जिल्लामा रहेका ६ वटा स्थानीय तह भागबन्डा गर्दा नेपाली कांग्रेसले ललितपुर महानगरपालिका, गोदावारी नगरपालिका, वागमती गाउँपालिका र महाङ्काल गाउँपालिका हात पारेको छ भने नेकपा (माओवादी केन्द्र) ले महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाको नेतृत्व पाएको छ ।
गठबन्धनको मतको अवस्था
स्थानीय निर्वाचन २०७४ को मत परिणामलाई केन्द्रमा राखेर ललितपुर जिल्लाका ६ स्थानीय तहको विश्लेषण गर्दा नेकपा एमालेले यो जिल्लाका कुनै पनि स्थानीय तह जित्ने आधार देखिदैन । २०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले पाएको मतलाई मात्रै जोड्दा पनि गठबन्धन एमालेभन्दा निक्कै धेरै मतान्तरले जित्ने देखिन्छ ।
गठबन्धन र एमालेको मतान्तर
ललितपुर महानगरपालिकामा गठबन्धनको मत ३५ हजार ३ सय तीन छ भने यो महानगरपालिकामा एमाले गठबन्धनभन्दा १० हजार ९ सय सतासी मतले पछि छ । उपमेयरमा गठबन्धन ३२ हजार ७ सय ९८, एमाले २२ हजार २ सय ५८ मतले पछि । २०७४ सालको निर्वाचनमा एमालेले राप्रपासँग मिलेर चुनाव लड्दा जम्मा २४ हजार ३ सय १६ मत प्राप्त गरेको थियो । उपमेयर पनि राप्रपासँग तालमेल गरेको थियो । कांग्रेसका उपमेयर पनि धेरै ठुलो मतान्तरले निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचन मत परिणामअनुसार गोदावारीको गठबन्धनको मत १९ हजार ४ सय ९०, एमाले ८ हजार ४ सय ३ मतले पछि, उपमेयरतर्फ गठबन्धनको मत १९ हजार १ सय ९२, एमाले ७ हजार ७ सय ९६ मतले पछि रहेको छ ।
बागमती गाउँपालिकामा गठबन्धन ५ हजार ३०, एमाले २ हजार ७ सय ७८ मतले पछि छ भने उपाध्यक्षमा गठबन्धन ४ हजार ८ सय ८१ र एमाले २ हजा ५सय ४१ मतले पछि छ । त्यसैगरी कोन्ज्योसोम गाउँपालिकामा गठबन्धनको ३ हजार ५ सय ३० रहेको छ भने एमाले २ हजार ५२ मतले पछि रहेको छ । कोन्ज्योसोम उपाध्यक्षमा गठबन्धन ३ हजार ३ सय ७७, एमाले १ हजार ९सय २० मतले पछि छ ।
महांकालमा गठबन्धन २ हजार ६ सय ५६ मत रहेको छ भने एमाले ५ सय ७६ मतले पछि छ । महांकालमै उपाध्यक्षको गठबन्धनतर्फ २ हजार ६७, एमाले २ सय २६ मतले अघि रहेको छ।
महालक्ष्मीमा गठबन्धनको ११ हजार २ सय ५ मत रहेको छ भने एमाले ३ हजार ३ सय ४१ मतले पछि रहेको छ। महालक्ष्मीमा उपमेयरतर्फ गठबन्धन १० हजार ४ सय ९०, एमाले १ हजार ८ सय ५४ मतले पछि छ।२०७४ सालको निर्वाचन परिणामले देखाउँछ।
गठबन्धनले निर्वाचन जित्ने आधारहरु
गठबन्धनमा पाँच दलहरु भए पनि माथि उल्लेखित भएका तथ्यांकहरु नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले २०७४ को स्थानीय निर्वाचनमा पाएको मतको कुल संख्या र सग्लो एमाले हुँदा एमालेले पाएको मत संख्याको हिसाब मात्रै गरिएकोले गठबन्धनको मतान्तर एमालेसँग अरु धेरै बढ्ने छ । माथि उल्लेखित तथ्यांक निकाल्न हामीले २०७४ सालको निर्वाचनमा दुई दल माओवादी र कांग्रेसले पाएको मतलाई जोडी उक्त निर्वाचनमा एमालेले पाएको मत घटाउँदा आउने संख्यालाई मतान्तरको हिसाबले लिएका हौं ।

ललितपुर जिल्लामा गठबन्धनका अरु दलहरु जसपा, नेकपा (एकीकृत समाजवादी) को मत पनि गठबन्धनमा थपिदा ललितपुर जिल्लामा एमालेलाई आफ्नो बिरासत जोगाउन निक्कै हम्मे पर्ने देखिन्छ।

SHARE