गुल्मीमा १५ जना बिद्यार्थी एसइई दिन अयोग्य

0
388

गीता पाण्डे
बैशाख ९, गुल्मी : आज देखि हुने एसइई परीक्षामा १५ जना बिद्यार्थी एसइई दिन अयोग्य भएका छन् ।
उनीहरुको बिद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र आवेदन फारम भरेता पनि राजश्व नबुझाएका कारण उनीहरु परीक्षा दिनका लागि अयोग्य ठहरिएको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो । अयोग्य रहेका बिद्याथीहरु मध्ये ६ जना छात्र र ९ जना छात्रा रहेका छन् ।
जिल्लामा एसइई परीक्षाका लागि २७ वटा केन्द्रहरु निर्धारण गरिएको छ भने केन्द्रको बिद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाइएको मरासिनीले बताउनुभयो ।
सत्यवती बहुमुखी क्याम्पसको केन्द्राध्यक्षमा भने जनज्योति माध्यमिक बिधालयको प्रधानाध्यपकलाई केन्द्राध्यक्ष तोकिएको कार्यालयका प्राबिधिक सहायक अमृत पौडेलले जानकारी दिनुभयो ।
क्याम्पसको प्रमुखलाई केन्दाध्यक्ष बनाउँदा परीक्षा मर्यादित हुन नसक्ने भन्दै जनज्योतिको प्र अ लाई केन्द्राध्यक्ष बनाइएको उहाँको भनाई छ ।
परीक्षालाई मर्यादित बनाउनका लागि सम्बन्धित स्थानीय तहको प्रमुख,उपप्रमुख र शिक्षा शाखाको प्रमुखले पनि अनुगमन गर्न सक्ने ब्यबस्था समेत रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा परीक्षाको अनुगमन गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समितिले र कार्यालयले पनि अनुगमन गर्ने पौडेलले बताउनुभयो ।
प्रश्न पत्र र उत्तर पुस्तिका परीक्षा केन्द्र रहेको नजिकैको प्रहरी चौकीमा सुरक्षित राख्ने गरी प्रबन्ध मिलाइएको कार्यालयले जनाएको छ ।
गुल्मीबाट यस बर्ष चार हजार आठ सय २३ बिद्यार्थी सहभागी हुनेछन् । साधारण धारको नियमित तर्फ चार हजार चारसय ९२ जना,प्राबिधिक धारको नियमित तर्फ २८७ जना, खुला नियमित तर्फ २१ जना आशिंक तथा ग्रेड बृद्धि तर्फ २३ बिधार्थी रहेको कार्यालयले जनाएको छ ।

SHARE