छब्बीस वर्षीय युवती इश्मा गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार

0
367

गुल्मी, बैशाख ५ गते । आसन्न स्थानीय तहको निर्वाचनको लागि गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा छब्बीस वर्षीय एक युवतीले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ । नेपाली काँग्रेसको महासमिति सदस्य एवम् नेपाली काँग्रेस इस्मा गाउँपालिका कार्य समिति उपसभापति समेत रहँनु भएकी छब्बीस वर्षीय अधिवक्ता पार्वती कुँवरले पार्टीको निर्णय अनुसार गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दिनुहुने भएको हो ।

नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको कुँवर वि.सं.२०५२ सालमा इस्मा गाउपालिका–२, पालुखा (साविकको हस्तिचौर गा.वि.स.–८) मा जन्मिनु भएको हो । उहाँले व्यवस्थापन संकाय र राजनितिशास्त्रमा स्नातकोत्तर गरी कानुन संकायमा स्नातक समेत गर्नुभएको छ ।

महिलालाई आरक्षण हैन अबसरको अभाव छ उहाँले भन्नुभयो, “महिलाले अवसर पाए भने पुरुष जत्तिकै धेरै कार्य सम्पादन गर्न सक्ने क्षमता छ । महिला सशक्तिकरणका हरेक अभियानमा आफुलाई जोड्ने, युवा, महिला तथा वालवालिकाको हकहित र अधिकारको लडाइमा सधै अग्रपंतिमा रहने छु ।” व्यक्तिगत जीवन र स्वार्थलाई पर राखेर समाज विकास परिवर्तनसंगै सामाजिक रुपान्तरणको अभियानमा कटिबद्ध भएर उभिने छु उहाँले भन्नुभयो, “अबका महिलालाई आसन भाषण र शासन सुनिश्चितता गर्नको लागि पनि मेरो उम्मेदवारी हो ।”

उहाँलाई स्थानीयहरुले युवा पुस्ताको लोक प्रिय नेता समेत मान्दछन् । उहाँलाई नजिकबाट चिन्नेहरुले तार्किक क्षमतावान, बौद्धिक अध्ययनशिल र कूशल नेतृत्वकर्ता समेत रहेको बताउँदै आएका छन् ।

SHARE