जोखिम मोलेरै लगानी गर्नुपर्नेमा गुल्मीका सहभागीहरुको जोड

0
292

सन्तोष महतारा
गुल्मी, ४ बैशाख : गुल्मीमा लगानी सम्भाव्यता सम्बन्धि भएको कार्यशाला गोष्ठीमा सहभागीहरुले जोखिम मोलेरै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यता सम्बन्धि भएको कार्यशाला गोष्ठीमा सहभागीहरुले जोखिम मोलेरै लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

गुल्मी उद्योग वाणिज्य संघले संचालन गरेको चौथो गुल्मी महोत्सवको अवसरमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यता सम्बन्धि छलफल गरेको वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । “पर्यटन क्षेत्रमा थुप्रै सम्भावना भएर पनि सिङ्गो जिल्ला पछाडि परेको छ ।” अध्यक्ष पौडेलले भने, “पर्यटन क्षेत्रको सम्भावना खोजेर लगानी गर्नको लागि सबै सरोकारवालासँग छलफल गरेका हौं ।” उनले जिल्लाका पर्यकटीय क्षेत्रलाई व्यवस्थित गरेर पर्यटक भित्राउन सकिने बताए ।

छलफलमा गुल्मीको पर्यटन माग र साहसिक पर्यटन सम्बन्धि बायुसेवा संचालक संघका प्रवक्ता तथा पर्यटन व्यवसायी योगराज कँडेल, गुल्मीको पर्यटनमा लगानी, चुनौती र स्थानीयको भूमिका सम्बन्धि होटल पौवाका प्रमुख कार्यकारी अधिकृत बिष्णु ज्ञवाली, पर्यटन व्यवसाय संचालन, रोजगारी, सम्भावना र व्यवस्थापन सम्बन्धि पर्यटन व्यवसायी निश्चल श्रेष्ठ, टिप्पणी श्रीप्रसाद भलामी र पर्यटन क्षेत्र सम्बन्धि कृषि विकास बैंकका पूर्व महाप्रबन्धक कृष्ण कुँवरले प्रस्तुति राखेका थिए ।

बायुसेवा संचालक संघका प्रवक्ता कँडेलले साहसिक पर्यटन आर्थिक समृद्धिका लागि निकै महत्वपूर्ण भएको बताए । “पर्यटक आउने र जाने मात्र नभई पर्यटकले खर्च गर्नपर्ने बाताबरण सिर्जना गर्न आबश्यक छ ।” पर्यटन व्यवसायी कँडेलले भने, “पर्यटकीय क्षेत्रमा व्यवस्थापन हुनु जरुरी छ ।” उनका अनुसार पर्यटन क्षेत्रमा चुनौती भएपनि उत्तिकै फाइदा हुनेगर्दछ । पर्यटक आउने तर सङ्ख्याको गणना नहुनु निराशाजनक कार्य भएको उनले बताए ।

गुल्मी जिल्ला सामुन्द्रिक सतहबाट ४ सय ६४ मिटरमा रिडी र २ हजार ६ सय ९० मिटरमा अग्लो थाप्ले लेक रहेकोले पर्यटन क्षेत्रमा थुप्रै सम्भावाना बोकेको जिल्ला हो । जिल्लामा पाल्पा–रिडी–तम्घास–धुर्कोट–मदाने–मालिका–मुसिकोट–रुद्रवेणी–कालीगण्डकी– सिद्धार्थ राजमार्ग, सिद्धार्थ राजमार्ग–रुद्रवेणी–मुसिकोट–इस्मा–मालिका–मदाने–धुर्कोट–तम्घास–रिडी, मध्यपहाडी राजमार्ग–वामीटक्सार–तम्घास–रिडी–रुद्रवेणी, सालझण्डी–ढोरपाटन–मदाने–मालिका–तम्घास–कालीगण्डकी, पाल्पा–रिडी–रुद्रवेणी–खैरेनी–ढोरपाटन र सन्धिखर्क–तम्घास–मजुवा–सालझण्डी लगायतका थुप्रै पर्यकटीय मार्गहरु रहेकोले यसलाई जोड दिनुपर्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

होटल पौवाका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रेसुङ्गामा भएको जैविक विविधतालाई प्रयोग गरेर थुप्रै पर्यकट भित्राउन सकिने बताए । “सबै मिलेर व्यवसाय गरेमा अनिवार्य सफल हुन सकिन्छ ।” ज्ञवालीले भने, “आन्तरिक कृषिलाई पर्यटनसँग जोड्न आवश्यक छ ।” आफूहरुले देशभर होटल पौवाका १ सय शाखा विस्तार गर्ने गरेर लागेको बताए ।

पर्यटन व्यवसायी निश्चल श्रेष्ठले पर्यटन क्षेत्रले विश्वभर १० प्रतिशतमा रोजगारी दिएको कारणले पर्यटकीय क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए । “पर्यटन क्षेत्रमा सामान्य लगानीमा पनि राम्रो काम गर्न सकिन्छ ।” श्रेष्ठले भने, “पर्यटनसँग जोडिएका उद्योगहरुसंचालन गर्न सजिलो छ ।” पर्यटन क्षेत्रले गरिबी हटाउने र रोजगारी सिर्जना गर्ने भएकोले होटल व्यवस्थापन कक्षा जिल्लामा संचालन गर्न आफू तयार रहेको बताए ।

लगानीका लागि बैंकर्स एसोसिएसनका तर्फबाट आनन्द उपाध्याय र कालिदास पाण्डेले बैंकले लगानी गर्न तयार रहेको बताएका छन् । बैंकले लगानी गर्ने ठाउँ नपाएको सन्दर्भमा बैंक सदैव तयार रहेको बताउँदै उनीहरुले साना तथा घरेलु उद्योगमा लगानी गर्न सकेमा लगानी नडुब्ने बताएका हुन् । पर्यटन क्षेत्रमा लगानी गर्दा आफूले सधैं ऋण दिने र गुल्मीको विकासका लागि सदैब सहकार्य हुने बताए उनीहरुले बताए ।

कृषि विकास बैंकका पूर्व महाप्रबन्धक कृष्ण कुँवरले गुल्मीमा पर्यटक नआउने कारणको अध्ययन गर्नपर्ने आवश्यक रहेको बताए । “हामीसँग भएको स्रोत साधनलाई उच्चतम प्रयोग गरेर पर्यकट ल्याउन सकिन्छ ।” कुँवरले भने, “पर्यटकीय क्षेत्रलाई भत्काउने र बिगार्ने नगरिकन पर्यकटकहरुलाई गर्न सकिन्छ ।” उनले भएको स्रोतसाधनलाई उच्चतम प्रयोग गर्न सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनेमा उनको जोड छ ।

टिप्पणीकर्ता उद्योग वाणिज्य संघका गुल्मीका पूर्वअध्यक्ष श्रीप्रसाद भलामीले एक्लो भएर व्यवसाय गर्ने युग हराइसकेकोले सबै मिलेर संयुक्त व्यवसाय गर्नुपर्ने बताए । “लगानीकर्तालाई आर्कर्षित गरेर जिल्लामा व्यवसायलाई अगाडि बढाएर पर्यटनको संख्या वृद्धि गर्न सकिन्छ ।” टिप्पणी गर्दै भलामीले भने, “लगानी लगाएर शिक्षा र स्वास्थ्यमा विकास गरेर आन्तारिक पर्यटन र बाह्य पर्यटन भित्राउन सबै लाग्नुपर्दछ ।” उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्ने बाताबरण सिर्जना आवश्यक रहेको बताए ।

SHARE