मर्मत पश्चात थ्रिडी पार्क संचालनमा

0
251

बैशाख ३,०७९ गुल्मीः निर्माण भएको लामो समयसम्म संचालनमा आउन नसकेको तम्घासको थ्रिडी पार्क मर्मत पश्चात अहिले संचालनमा आएकोे छ ।

रेसुङगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो सो पार्कलाई नगरपालिकाले थप पाँच लाखको लागतमा मर्मत गरी संचालनमा ल्याएको हो ।
पार्कको रेसुङगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । पार्कको उद्घाटन गर्दै भुसालले पार्कको संरक्षण गर्नु र सुन्दता कायम राख्नु सबैको दायीत्व भएको बताए ।
उहाँले विगतमा पार्कको संरक्षण गर्न नसक्दा केही संरचनाहरु भत्किएको भन्दै सबैले हाम्रो हो भन्ने भावना राखेमा संरक्षण हुने र सौन्दर्यता कायम रहने बताए ।

पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुःखद पक्ष भएको भन्दै ढीलै भएपनि पार्कको उद्घाटन हुनु सुखद भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए ।
उनले विभिन्न संघ संस्था, संगठन र दलहरुले सरकारको अगाडी उभिएर सरकारलाई नै खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काउनु राम्रो पक्ष नभएको बताए ।

पाण्डेले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिए। जसले पार्कको परिकल्पना गरेको हो त्यो नै जवाफदेही हुनुपर्ने उनको तर्क छ ।

पार्कलाई उद्घाटन गर्दाको दिनमा जस्तै यसको सौन्दर्यता र संरक्षण गर्नमा स्थानीय सरकार नलागेमा लाखौ रकम लगानीको कुनै अर्थ नरहने यहाँका स्थानीयहरुले बताउँदै आएका छन् ।
आर्थिक बर्ष २०७५।०७६ बाट सो पार्कको निर्माण कार्य अगाडी बढाइएको थियो ।

SHARE