बैशाख ३,२०७९काठमाडौं :नेकपा (माओवादी केन्द्र)ले परिणाम देखिने गरी निर्वाचनमा लाग्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्षको निवास खुमलटारमा पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको आज बसेको अनौपचारिक बैठकले परिणाम देखिने गरी निर्वाचनमा होमिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको प्रेस नोटमा जानकारी दिइएको हो ।
वक्तव्यमा भनिएको छ, ‘बैठकमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेल सम्वन्धी छलफलका विषयमा जानकारी गराउनुभयो । बैठकमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिंगो पार्टी पंक्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भयो ।’
स्थानीय चुनाव नजिकिएसँगै देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेशको लहर बढेको चर्चा गर्दै बैठकमा एकता प्रक्रियामा आउने कमरेडहरुलाई जिम्मेवारी दिने र प्रक्रियागत रुपमा व्यवस्थित गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्बन्धमा मापदण्ड बनाउने निर्णय गरिएको छ।
एमाले नेतासहित सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
यसैबीच नेकपा (एमाले) नुवाकोटका जिल्ला नेता माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, कांग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एकप्रसाद पाण्डे लगायत २०० जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । त्यसैगरी एमालेका रौतहट जिल्ला नेता सञ्जीवकुमार साहको नेतृत्वमा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी ५०० जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
पाण्डे र साह नेतृत्वको नेता कार्यकर्ताहरुको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशैभर माओवादीप्रति व्यापक जनलहर आएको र आगामी दिन यो गति अझै तीव्र हुने बताउनुभयो ।