यसकारण नेपाल श्रीलंकाजस्तो बन्दैन, भ्रम नछरौंः मन्त्री भुसाल

0
262

काठमाडौं, ३० चैत । ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल श्रीलंका जस्तो आर्थिक संकटमा नपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रकी पूर्वस्थायी समिति सदस्यसमेत रहेकी मन्त्री भुसालले अहिले नेपाललाई श्रीलंकाको स्तरमा आर्थिक संकट र असफल राज्य बन्न लागेको जस्तो प्रचार भइरहेकोमा आपत्तिसमेत प्रकट गर्नुभयो ।

माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्वारा नयाँ वर्ष २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री भुसालले नेपालको कृषिप्रधान अर्थतन्त्र, जलश्रोतको प्रचूरता, जलविद्युत र वैकल्पिक ऊर्जाको अवस्था आदिले नेपाल श्रीलंकाको जस्तो अवस्थामा पुग्न नसक्ने दावी गर्नुभयो ।

भुसालले माओवादीले नेतृत्व गरेका मन्त्रालयले धेरै राम्रा कामहरु गरेको भए पनि विरोधी र परिवर्तनविरोधीहरुले अनावश्यक आलोचना र भ्रम छरेर जनतामा आतंक फैलाएको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयले आधारभुत जनताको पक्षमा काम गरिरहेको बताउँदै २० युनिटसम्म निशुल्क विजुली, सहुलियत दरमा इन्डक्सन चुलो, विद्युतीय सवारी साधनको गुणात्मक वृद्धिलगायतका जनपक्षीय काम गरेको दोहो¥याउनुभयो ।

कार्यक्रममा कर्मचारी संगठनद्वारा प्रकाशित गरिएको नयाँ वर्षको क्यालेण्डर सार्वजनिक गरिएको थियो । मन्त्री भुसालले क्यालेण्डर सार्वजनिक गर्दै आगामी स्थानीय निर्वाचनमा माओवादीलाई विजयी गराउन कर्मचारीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन समेत दिनुभयो ।

संगठनका अध्यक्ष हरि रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपालका इन्चार्ज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश्वर दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, कर्मचारी महासंघका नेताहरु मणिरत्न श्रेष्ठ र मोहनमान स्वाँरलगायतको सहभागिता रहेको थियो ।

SHARE