स्थानीय निर्वाचन : उम्मेदवार छनोट गर्दै दल

0
374

हुमाकान्त पोखरेल
चैत ३०,२०७८ गुल्मीः आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् ।

पालिकाका अध्यक्ष एवम् प्रमुख, उपाध्यक्ष एवम् उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरु टुंगाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिकाहरु छन् । जसमा हालसम्म एमाले, काँग्रेस र माओवादी केन्द्रले छ पालिकामा अध्यक्ष एवम् प्रमुखको उम्मेदवार छनोट गरेका छन् । तर कुनै पनि पालिकामा कुनै पनि पार्टीले उपाध्यक्षको उम्मेदवार भने छनोट गरेका छैनन् ।

जिल्लामा सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रले चन्द्रकोट गाउँपालिकामा अध्यक्षको उम्मेदवार छनोट गरेको थियो । पार्टीले प्रदेश कमिटी सदस्य युवराज केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । गठबन्धनबाट पालिका उपाध्यक्षमा काँग्रेसको उम्मेदवार हुने भनिएपनि काँग्रेसले उम्मेदवारको टुंगो लगाएको छैन ।

धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरेलको नेतृत्वमा भएको जनप्रिय कामले गर्दा उनलाई नै अध्यक्षको उम्मेदवार बनाइएको गाउँकमिटी अध्यक्ष गोपाल कुँवरले जानकारी दिए । धुर्कोटमा अझैसम्म पनि गठबन्धनको टुंगो नलाग्दा माओवादीले अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।

मुसिकोट नगरपालिकामा नेकपा एमालेले जिवन खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीभित्र योगदानको आधारमा सर्वसम्मत नगरप्रमुख पदको उम्मेदवार बनाइएको पार्टीका पालिका अध्यक्ष प्रकाश काफ्लेले बताए ।

मुसिकोटमै काँग्रेसको तर्फबाट हरीनारायण सापकोटालाई नगर प्रमुखको उम्मेदवार बनाइएको छ । सापकोटा पार्टीका पूर्व जिल्ला सचिव हुन् । काँग्रेसले आइतबार सर्वसम्मत उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रले भने नगर प्रमुखको उम्मेदवारको टुंगो लगाएको छैन । कालिगण्डकी गाउँपालिकामा एमालेले राम्जी ढकाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल हाल पार्टीको गाउँकमिटी अध्यक्ष छन् ।

जिल्लामा सबैभन्दा बढी एमालेले वडाध्यक्षको उम्मेदवार टुंगाएको छ । जिल्ला सचिव गणेश श्रीपालीका अनुसार हालसम्म २५ वडामा वडाध्यक्षको उम्मेदवारको टुंगो लगाइएको छ । एमालेले धुर्कोट गाउँपालिकाको वडा नम्बर ३ हाडहाडेमा विष्णु बहादुर श्रीस र वडा नम्बर ६ रजस्थलमा कृष्ण नेपालीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । उनीहरु दुवैजना वडाध्यक्ष छन् ।

नेकपा माओवादी केन्द्र उम्मेदवारको टुंगो लगाउनको लागि गठबन्धनको आश गरेर बसेको छ । पार्टीको धुर्कोट, चन्द्रकोट र मालिकाबाहेक अन्य पालिकामा अध्यक्षका उम्मेदवार घोषणा भएका छैनन् । रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवालीलाई माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार बनाउने भनेपनि अहिलेसम्म औपचारिकता प्रदान गरिएको छैन ।

पार्टीले हालसम्म जिल्लाका कुनै पनि वडामा वडाध्यक्ष्यको समेत टुंगो लगाएको छैन । सबै वडामा उम्मेदवारहरु तयारी अवस्थामा राखिएकोले केही दिनभित्रै घोषणा गर्ने जिल्ला संयोजक बुद्धि जिसीले बताए । जिल्लाको रेसुङ्गा, मदाने, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र र सत्यवती गाउँपालिकाको लागि कुन पनि दलले अध्यक्ष पदको उम्मेदवार टुंगाएका छैनन् ।
मालिकामा गठबन्धन
जिल्लाको मालिका गाउँपालिकामा पाँच दलीय गठबन्धन भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसले उम्मेदवार बनाउनेगरी केन्द्रको सत्तागठबन्धनले चुनावी तालमेल गरेको हो ।

अध्यक्षमा माओवादीको तर्फबाट देविराम अर्याल उम्मेदवार छन् । उपाध्यक्षमा काँग्रेसले उम्मेदवार छनोट गरिसकेको छैन । कुल आठ वटा वडा रहेको मालिकामा वडा नम्बर ३ ह्वाङ्दि र वडा नम्बर ८ मर्भुङ्गमा माओवादी र अन्य ६ वडामा काँग्रेसले वडाध्यक्षको उम्मेदवार बनाउनेगरी सहमति भएको काँग्रेस मालिकाका सभापति उपेन्द्र अर्यालले जानकारी दिए ।

त्यस्तै एकीकृत समाजवादीलाई केही वडा सदस्यहरुमा उम्मेदवारी दिनेगरि सहमति भएको अर्यालले बताए । ह्वाङ्दिमा अर्जुन बुढा मगर र मर्भुङ्गमा सुर्य बहादुर जिसी वडाध्यक्षका उम्मेदवार छन् । काँग्रेसको भागमा परेका वडाध्यक्षका उम्मेदवार पनि केही दिनमै टुंगो लगाउने सभापति अर्यालको भनाई छ ।

SHARE