जनविकास केन्द्रको १० औँ साधारण सभा सम्पन्न

0
307
????????????????????????????????????

हुमाकान्त पोखरेल, गुल्मी
२३ मंसिर । जनविकास केन्द्र गुल्मीको १० औँ साधारण सभा सम्पन्न भएको छ । सभाले देविराम अर्यालको अध्यक्षतामा नौ सदस्यिय कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा हरी प्रसाद घिमिरे, सचिवमा चन्द्र विक लगायतका सदस्य रहेका छन् । सभाको उद्घाटन गर्दै रेसुगां नगरपालिकाका मेयर डिल्लिराज भुसालले सरकारले गर्न नसकेका कतिपय कामहरु गैर सरकारी सँस्थाले गरेको भन्दै प्रशंसा गरे । २०६५ साल पौषमा स्थापना भएको संस्थाले चालु आर्थिक बर्षमा जलवायु परिवर्तन कृषि प्रविधिहरुको अध्ययन तथा प्रवद्र्धन, गरिवि निवारण तथा बाख्रा उद्यम परियोजना लगायतका क्षेत्रमा काम गरिरहेको जनाएको छ । कृषि सुचना तथा प्रशिक्षण केन्द्र ललितपुरको आर्थिक सहयोगमा धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक, ५ वस्तु र वडा नम्बर ६ रजस्थलमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम संचालन भइरहेको छ । जसमा जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको असरबारे अध्ययन र धानका सुख्खा जातहरुको परिक्षण गरिरहेको जनाएको छ । यस कार्यक्रमबाट कुल ४४६ जना लाभान्वित हुने संस्थाले जनाएको छ । मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा मुसिकोटको वडा नम्बर १, २, ३ र ४ मा बाख्रा उद्यम परियोजना संचालन हुँदैछ । यस कार्यक्रमले बाख्रापाल्ने कृषकहरुलाई सक्षम र सबल बनाई मासुको लागि आत्मनिर्भर र निर्यात गर्ने लक्ष्य लिएको संस्थाका लेखा अधिकृत हरी प्रसाद मरासिनीले जानकारी दिए ।
जनविकास केन्द्र गुल्मीले आर्थिक बर्ष २०७५÷७६ मा विभिन्न स्थानीय तहमा सातवटा शिर्षकमा काम गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । जसअन्तरगत ४९ लाख ९९ हजार बजेटमा धुर्कोट गाउँपालिका वडा नम्बर ४, ५ र ६ मा जलवायु परिवर्तन र कृषि प्रवद्र्धनबारे अध्ययन गरिरहेको छ । संस्थाले चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ र इस्मा गाउँपालिकाका वडा नम्बर ३, ५ र ६ मा सिमान्तकृत, लोपोन्मुख तथा पिछडिएका वर्गका लागि सिप तथा क्षमता विकास सम्बन्धि तालिम दिएको छ । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको १५ लाख आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन गरेको लेखा अधिकृत मरासिनीले जानकारी दिए । संस्थाले गत बर्ष नै ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको चार लाख आर्थिक सहयोगमा धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन ग¥र्यो । त्यस्तै इस्मा गाउँपालिकाको एक लाख ८५ हजारको आर्थिक सहयोगमा गाउँपालिकामा महिला शसक्तिकरण, समुह गठन तथा परिचालनसम्बन्धी तालिम सम्पन्न गरेको छ । धुर्कोट गाउँपालिकाको दुई लाख ७५ हजारको सहयोगमा गाउँपालिकामा टोल संरक्षण महिला मञ्चको संचालन, मदाने गाउँपालिकाको तीन लाख ५० हजारको सहयोगमा गाउँपालिकामा युवा उद्यमशिलता विकास कार्यक्रम तथा मालिका गाउँपालिकाको एक लाखको सहयोगमा सामुदायिक वनमा आय–आर्जन कार्यक्रम सम्पन्न गरेको संस्थाका साधारण सदस्य बाबुराम पन्थीले बताए । कार्यक्रममा नेकपा गुल्मीका सचिव विर बहादुर कार्की, नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, गैर सरकारी संस्थाका अध्यक्ष विष्णु भण्डारी, पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

SHARE