मालिकाका जनप्रतिनिधिलाई कानुन पढाउँदै गुल्मी प्रशासन

0
246

चैत १०,२०७८ गुल्मी : गुल्मीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन पढाउँन थालेको छ ।

जनप्रतिनिधिहरुले नागरिकता लगायत अन्य सिफारिसहरु गर्दा समस्या देखा पर्ने गरेकाले त्यसको बारेमा कानूनी जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

प्रशासनले मालिका गाउँपालिकामा जनप्रतिनिधिहरु बिच कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको र सबै स्थानीय तहका जनप्रतिनिधिहरु बिच अभियानकै रुपमा कार्यक्रम संचालन गर्ने गरि लागिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।

जिल्लाका ग्रामीण स्तरहरुबाट सेवाग्राहीहरु आउँदा स्थानीय तहले गर्ने नागरिकता लगायतका सिफारिसहरुमा कुनै समस्या नपरोस र सहज रुपमा सेवा प्रर्वाह गर्न सकियोस भन्ने उद्येश्यले कार्यक्रम गरिएको पौडेलले बताए ।

यस्तै कार्यक्रममा बिपद ब्यबस्थापन ,अपराध न्यूनिकरण ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण लगायतका बिषयमा पनि छलफल भएको थियो । सामाजिक सुरक्षा भत्ता वितरणमा कतै अनियमितता भएको पाइएमा हदैसम्मको कानूनी कारवाही गर्ने पौडेलले चेतावनी दिए ।

कार्यक्रममा वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, राजनीतिक दल तथा सरोकारवालाहरुले नागरिकता ,बहुबिवाह, पेन्सन लगायतका बारेमा आइपरेका समस्याहरुको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

SHARE