स्वतन्त्र रूपमा काम गर्न नवनियुक्त अध्यक्ष हमाललाई अर्थमन्त्रीको आग्रह

0
408

फागुन ६,२०७८ काठमाडौं :अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गर्नुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउनुहुँदै उहाँले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गर्नुभएको हो ।

‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भन्नुभयो, ‘तपाईँ यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईँले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ ।’ उहाँले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताउनुभयो । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्नुहुँदै निरन्तर सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त हमालले यसअघि नेपाल विद्युत प्राविधिकरणमा ९ वर्ष कार्य गर्नुभएको थियो । त्यस्तै उहाँले विभिन्न संस्था तथा कम्पनीहरूमा नेतृत्वको अनुभव लिनुभएको छ ।

SHARE