–सुशीला रेग्मी
रामपुर (पाल्पा), २४ माघ : पूर्वखोला गाउँपालिका ५ बिरकोटका हिरा श्रेष्ठको दैनिकी अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उहाँलाई यतिबेला विभिन्न थरी थरीका चित्र बनाउन भ्याईनभ्याई छ ।
हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न संघ संस्था, होटल रेष्टुरेण्ट, विद्यालयमा चित्र कोर्दैमा समय बितेको उहाँलाई पत्तो छैन । यसबाट मासिक रु ४० हजार सम्म कमाई गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “आफूमा सीप र जाँगर भएपछि जिवन धान्न गाह«ो हुदो रहेनछ, अहिले भित्तेलेखन चित्र कोर्ने काममा व्यस्त छु, काम गर्दै जादा सीपमा निखारता आउने र कमाई पनि राम्रै हुने रहेछ” ।
सानैदेखि नै चित्र कोर्ने कार्यमा रुची जगाउने ३६ वर्षीय श्रेष्ठले अहिले दाम मात्र नभई समाजमा राम्रो पहिचान बनाउनुभएको छ । विसं २०५७ देखि यस कार्यमा लाग्नुभएका श्रेष्ठले दुई वर्ष देखि रामपुरलाई कार्यथलो बनाएर यहाँका विभिन्न ठाउँ ठाउँमा पुगेर चित्र बनाउने गर्नुहुन्छ ।
भित्तेलेखन, साइनबोर्ड, कम्पनीको बोर्ड, घरका भित्ता सजावट देखिका सबै सीप उहाँमा छ । कक्षा १२ सम्म अध्ययन गर्नुभएका श्रेष्ठले परिवारको आर्थिक अवस्था नाजुक हुदा अध्ययनलाई भने अगाडी बढाउन सक्नुभएन ।
आफूसंग भएको सीपलाई विकास गर्दै जादा अहिले यस कार्यमा दख्खल बन्नुभएको छ । धेरै ग्राहकबाट माग आएपछि बुटवलमा एक वर्ष बसेर थप सीप सिकेपछि उहाँको चित्रकोर्ने कला लोभ लाग्दो छ ।
“ठूला ठूला होटल रेष्टुरेण्ट, संघ संस्थाबाट माग धेरै आउन थालेपछि एक वर्ष बुटवलमा बसेर थप सीप सिकेपछि व्यावसायिक रुपमा काम गर्न थालेको छु, यो व्यवसायबाट अहिले म सन्तुष्ट छु” उहाँले भन्नुभयो ।
यहीँ व्यवसायले श्रीमती, दुई छोराछोरी, बुबा आमाको पालनपोषण, छोराछोरीको पढाई खर्च, घरखर्च राम्रो संग चलेको उहाँ बताउनुहुन्छ । उहाँमा बढी प्राकृतिक वस्तुहरुमा चित्र कोर्ने रुची भएपनि ग्राहकले जुन प्रकारको चित्र खोज्यो जस्ताको तस्तै तयार पार्ने उहाँको राम्रो कला छ ।
सानैमा विद्यालयमा चित्रकला कार्यक्रममा सधै उत्कृष्ट हुुनुहुन्थ्यो । भविष्यमा चित्रकार बन्ने उहाँको सपना सनौदेखि थियो । परिवारको हौसला, अग्रज चित्रकार, आफन्त, साथीभाईको उत्प्रेरणा र आफ्नै मेहनतले उहाँका सीपमा निखारता आउँदै गयो ।
अहिले समाजमा चित्र कोर्ने कार्यलाई व्यवसायीक बनाउने खासै भेटिदैनन् । चित्र बनाउने कार्यमा दख्खल भएका व्यक्तिलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुहुन्छ, गंगा मावि रामपुरका सहायक प्रधानाध्यापक कृष्ण घिमिरे ।
“उहाँमा जुनसुकै प्रकारका वस्तु तथा व्यक्तिको चित्र बनाउन पठायो, ठ्याक्कै मिल्दोगरी चित्र बनाउने राम्रो प्रतिभा देखे, यसमा तल्लिन भएर लाग्ने हो भने भविष्य छ” घिमिरेले भन्नुभयो ।
कागजमा बनाएको चित्रको माग कमै आउँछ । अहिलेको सन्र्दभमा भित्तेलेखन नै बढी आउने गरेको श्रेष्ठ बताउनुहुन्छ । पछिल्लो समय ठूला–ठूला घर भवन, संघ संस्था, होटल रेष्टुरेण्ट धमाधम बन्न थालेपछि आफ्नो कला र सीप प्रदर्शन गर्ने राम्रो अवसर मिलेको उहाँको भनाई छ ।
चित्र कोर्ने सीप भएका तर अवसर नपाएर धेरैले यस कार्यलाई आर्थिकोपार्जनका रुपमा विकास गर्न सकिरहेका छैनन् । श्रेष्ठको सीप र मेहनत अवलम्वन गर्ने हो भने जीवन जिउँन कठिनाई छैन ।