गुल्मीदरबारमा जेष्ठ नागरिक र अपाङ्गसंग गाउँपालिका कार्यक्रम प्रभावकारी

0
311

रामकृष्ण कडेल
माघ ११,२०७८ गुल्मी : गुल्मीदरबार गाउँपालिकामा जेष्ठ नागरिक र अपाङ्गसंग गाउँपालिका कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष ०७८र०७९ को नीति तथा कार्यक्रम अनुसार जेष्ठ नागरिकसंग गाउँपालिका र अपाङ्गसंग गाउँपालिका कार्यक्रम अन्तर्गत सबै वडाहरूमा जेष्ठ नागरिक, क वर्गका अपाङ्गता भएका नागरिक र उहाँहरूका अभिभावकसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सहित उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

सम्मान कार्यक्रममा गाउँपालिकाको तर्फबाट फाईबर सिरक वितरण गरिएको थियो । गुल्मीदरबार गाउँपालिकाले आ व ०७७र०७८ देखि विभिन्न उमेर समूहका जेष्ठ नागरिकलाई सम्मान गर्दै फाइबर सिरक, रेडियो, तातो पानीको लागि थर्मस ,कोभिड स्वास्थ्य सामग्री वितरण गर्दै सम्मान गर्ने कार्यक्रम संचालन गरिरहेको हो।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाको कार्यवहाक अध्यक्ष मीना भण्डारीले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएको अनुभूत गराउन गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरूसंग छलफल, अन्तरक्रिया गर्दै सम्मान कार्यक्रम गरेको बताउनुभयो ।

उहाँले गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै दिर्घ रोगीहरूको लागि निशुल्क औषधी वितरण र घरघरमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था मिलाएको बताउनु भयो । गाउँपालिकाले जनतासँग गाउँपालिका, कृषकसँग गाउँपालिका, बिद्यार्थीसंग गाउँपालिका, बालबालिकासँग गाउँपालिका, खेलाडीसँग गाउँपालिका, सञ्चारकर्मीसँग गाउँपालिका कार्यक्रमहरू राखेको र त्यस्को प्रभावकारी कार्यान्वयनको लागि आवश्यक निर्देशन दिएको बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गुल्मीदरबार गाउँपालिकाले जनतालाई केन्द्रमा राखेर विभिन्न जनपक्षिय कार्यक्रमहरू संचालन गरेको र उक्त कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने शाखा प्रमुख लगायतका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएको बताउनुभयो ।

कर्मचारीहरु जनताको सेवक भएको हुँदा जनताको गुनासो नआउने गरी कार्य गर्न आफूहरू हरपल लागि परेको कुरा बताउनु भयो । जेष्ठ नागरिक र अपाङ्गसंग छलफल र अन्तरक्रियाबाट प्राप्त राय सुझाव अनुसार आगामी नीति तथा कार्यक्रम तर्जुमा गरिने कुरा समेत जानाकारी गराउनुभयो ।

जनताले हरेक कार्यमा कृयाशिलता देखाएमा हरेक कार्य प्रभावकारी रूपमा कार्यान्वयन हुने हुँदा समयमै चासो, गुनासोहरू वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाको कार्यवहाकअध्यक्ष समक्ष राख्नको लागि अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्षको अध्यक्षता, कार्यपालीका सदस्यहरू, वडा सदस्यहरू, प्रेस सल्लाहकार नविन कार्की, स्वास्थ्य शाखा प्रमुख नारायण अर्याल, सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख नवराज घिमिरे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ४४ जना जेष्ठ नागरिक र ४३ जना अपाङ्गता भएका नागरिकहरूलाई सम्मान गरिएको थियो ।

SHARE