
माघ १०,२०७८ गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।
कार्यालयमा कार्र्यरत तीन जना कर्मचारीहरुलाई संक्रमण पुष्टि भएको र अन्यलाई समेत केही लक्षणहरु देखा परेकाले माघ ११ गतेदेखी अर्को सूचना जारी नभएसम्मका लागि अत्याआवश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।
पछिल्लो समयमा कार्यालयमा सेवा ग्राहीहरुको भीडभाड पनि बढी भएकाले भीडभाडमा सेवा प्रवाह गर्दा थप जोखीम हुने भएकाले यस्तो निर्णय गरिएको पौडेलले बताए ।
अत्यावश्यक सेवा लिन आउँदा समेत खोप लगाएको कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने छ ।

बढी भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह समेत गरेको छ ।
सोमबार मात्रै जिल्लामा ६६ जनामा संक्रमण पुष्टि भएको र जिल्लामा कुल सक्रिय संक्रमितको सङख्या २८८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमण कारण जिल्लामा ९७ जनाको ज्यान गइसकेको छ ।






