तिलाचन पाण्डे
माघ ६,२०७८ गुल्मी : सत्यवती गाउँपालिका वडा नम्बर २ को चेहमी देखी सोही वडाको स्वास्थ्य चौकीसम्म जाने गोरेटो बाटो प्रधानमन्त्री रोजगारका कामदारहरुले निर्माण गरेका छन् ।
मुल सडकदेखी स्वास्थ्य चौकीसम्म जाने करिब १ किलोमिटर गोरेटो बाटो १.५ मिटर चौडा गर्ने गरी १५ जना कामदारहरु खटाइएको वडा सदस्य खड्गबीर थापाले जानकारी दिनुभयो ।
जनताको स्वास्थ्य सङग दैनिकरुपमा जोडिएको गोरेटो बाटो केही अप्ठेरो भएकाले सहज रुपमा पैदल यात्रा गर्न सकियोस भनेर गोरेटो बाटो निर्माणमा कामदार लगाइएको उहाँको दाबी छ ।
यस्तै सोही वडाको थुम्कामा पनि गोरेटो बाटो निर्माण गर्नका लागि १० जना कामदारहरु खटाइएको छ । दैनिक रुपमा स्थानीयहरु घाँस दाउरा गर्न जाने गोरेटो बाटोलाई चौडा गर्दा सहज हुने भन्दै सो बाटो चौडा गर्न कामदारहरु खटाइएको थापाले बताउनुभयो ।
पालिका भित्र गोरेटो बाटो निर्माण,नाली, पुल तथा कुलाहरु सफा गर्ने गरी काममा खटाइएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिनुभयो ।
यस बर्ष समयमै योजनाहरु छनोट गर्न सकिएकाले कार्यक्रमलाई प्रभाबारी बनाउने गरी आफू लागेको उहाँको दाबी छ ।
पालिका भित्रका बिभिन्न ५७ वटा योजनाहरुमा २८६ जना कामदारहरुले काम गरेको रोजगार संयोजक सुभाष आचार्यले जानकारी दिनुभयो ।
पालिका भित्रका बेरोजगार एक हजार २६० जनाले आबेदन दिएकोमा प्राथमिकताका आधारमा २६० जना छनोट गरिएको आचार्यले बताउनुभयो ।
कामदारहरुलाई दैनिक ५७७ का दरले १०० दिन बराबरको पारिश्रमीक उनीहरुको बैक खातामा जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।