गुल्मीमा ओसीएमसी र सरोकारवालाबीच लैङ्गिक हिंसा विषयक छलफल

0
247

सन्तोष महतारा
माघ ५,२०७८ गुल्मीः गुल्मीमा एकद्धार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० को लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको छ । गुल्मी अस्पतालको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी को लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको हो ।

एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी को लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समिति गुल्मीमा अहिलेसम्म मुख्य गरेर बलात्कार र घरेलु हिंसाका घटनाहरु आइरहेका छन् । उक्त समितिमा अहिलेसम्म जिल्लाको रेसुङ्गा नगरपालिकाका ५ वटा, धुर्कोट गाउँपालिकाका ५ वटा, मुसिकोट नगरपालिका २ वटा र मालिका गाउँपालिका ३ वटा घटना आएका थिए । रुरुक्षेत्र गाउँपालिकाको १, छत्रकोट गाउँपालिकाका २, इस्मा गाउँपालिकाका ४, चन्द्रकोट गाउँपालिकाको १, गुल्मीदरबार गाउँपालिकाको १ र मदाने गाउँपालिकाको १ वटा घटना उक्त समितिमा आएका छन् ।

बैठक तथा छलफलमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले लैङ्गिक हिंसा न्यूनीकरण मात्र नभई शुन्यकरण गर्नुपर्ने बताए । उनले स्थानीय तहको न्यायिक समिति क्रियाशील भएमा मात्र लिङ्गका आधारमा हुने विभेद अन्त्य हुने बताएका थिए । लैङ्गिक हिंसाको अन्त्यका लागि प्रशासन, प्रहरी र स्थानीय तहहरुले आफ्नो जिम्मेवारीको आगामी रणनीति बनाएमा मात्र कार्यक्रम उपलब्धिमूलक हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले न्याय खोज्न जादा सदरमुकाम अर्थात् दूरीको हिसाबले टाढा जानुपर्ने भएकोले लैङ्गिक हिंसाका घटनाहरु ग्रामीण भेगमा लुकेको बताए ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले लैङ्गिक हिंसाको व्यवस्थापन गर्न एकद्वार संकट व्यवस्थापन केन्द्र गुल्मीमा भएको बल्ल जानकारीमा आएको भन्दै स्थानीय तहका उपप्रमुखसँग सहकार्य गरेर काम गर्दा लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताए । उनले लैङ्गिक हिंसामा महिला मात्र नभई पुरुष पनि परेको भन्दै कुनै पीडित अन्यायमा पर्न नहुने बताए ।

सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले सकेसम्म लैङ्गिक हिंसाका घटना नियन्त्रण गर्नुपर्ने बताए । उनले सकेसम्म हुन नदिने कार्यक्रम चलाउने अनि घटना भइहालेमा त्यसको सहि व्यवस्थापन र पीडितलाई न्याय दिने कार्यक्रम अगाडि सार्न आवश्यक रहेको बताए । मोबाइल, फेसबुक र मदिराका कारणले हरेक प्रकारका हिंसा भइरहेको ढकालले बताए ।

मुसिकोट नगरपालिकाकी उपप्रमुख कमला शर्माले संघीय सरकार मार्फत एकद्वार संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा पनि लैङ्गिक हिंसाका घटना बढ्न नदिन कार्यक्रम चलाउनुपर्ने बताइन् ।

गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले सबैको समन्वयात्मक भूमिकाले मात्र लिङ्गको आधारमा हुने विभेद अन्त्य हुने बताए । बजेट अभाव नहुने भन्दै डाक्टर पच्याले समन्वय गरेमा मात्र एकद्वार संकट व्यवस्थापन केन्द्रको उपलब्धि हुने बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्षले हिंसामा परेपछि न्याय खोज्न सदरमुकाम आउँदा पीडित अलपत्र पर्ने अवस्था आएको बताए । एकद्वार संकट व्यवस्थापन केन्द्रले लैङ्गिक हिंसामा परेका पीडितहरुलाई न्याय दिन अझै क्रियाशील हुनुपर्ने पत्रकार अर्यालले बताए । बैठक तथा छलफलमा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

SHARE