जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको थेग्नै नसक्ने घुइँचो (फोटो)

0
283
जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस १०,२०७८ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीमा विगत एक हप्ता देखी सेवाग्राहीहरुको भीड लागेको छ ।
कुल पूजामा आएका नागरिकहरुले सोही मौकालाई छोपी नागरिकता लगायत अन्य सेवा लिन आउने गरेका कारण जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरुको भीड लागेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
बिहीबार मात्रै १५१ जनाको नयाँ नागरिकता जारी गरिएको र शुक्रबार एक सय जति नयाँ नागरिकता जारी गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

बिहीबार ४० जनाको नागरिकता जारी गर्न बाँकी रहेकाले शुक्रबार उनीहरुलाई पहिलो प्रथामिकता दिइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यब्रिकम पौडेलले जानकारी दिए ।
सोमबार ७३ जनाको नयाँ नागरिकता र ४३ जनाको प्रतिलिपी जारी गरिएको थियो भने मंगलबार ८३ जनाको नयाँ र २९ जनाको प्रतिलिपी, बुधबार ११३ जनाको नयाँ र ३९ प्रतिलिपी जारी गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
सोही संख्यामा नै राष्ट्रिय परिचय पत्रका लागि पनि विवरण दर्ता गराउने गरेको दर्ता कम्प्युटर अपरेटर सुनिता कंडेलले जनकारी दिइन् ।
सेवाग्राहीको चाँप बढी भएका कारण बिहानै सात बजेदेखी कर्मचारीहरु खटिई सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

यो महिना कुलपुजा अर्थात देवाली मनाउन गुल्मी जिल्ला घर भई शहर बजारमा बसोबास गर्ने र यो मौकालाई छोपी नागरिकता बनाउने भएकाले पनि प्रशासनमा सेवा ग्राहीको चाँप बढेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले जानकारी दिए ।
नागरिकताको महत्व नागरिकले बुझेनन् ः प्रजिअ
नागरिकहरुले नगरिकता बनाउने मुख्य भन्दा पनि यसलाई सहायक बनाएर मौका छोपी आउने गरेको उनको दाबी छ । यस्तै नागरिकहरुले नागरिकताको महत्व अझै पनि नबुझेको पौडेलले बताए ।

नागरिकताको महत्व नागरिकले नबुझेका कारण पनि प्रतिलिपी लिनेहरुको सङख्या बढ्दो क्रममा रहेको उनको तर्क छ । बिवाह पश्चात बिवाह दर्ताले काम गर्ने ठाउँमा अझै पनि नागरिकता परिवर्तन गर्नु पर्छ भन्ने मान्यता कायम रहेका कारण पनि प्रतिलिपी लिनेहरुको सङख्यामा बृद्धि हुँदै गएको उनको भनाई छ ।

SHARE