टोपलाल अर्याल
मंसिर २८,२०७८ गुल्मीःगुल्मीको मालिका ६ अर्जेका खीमप्रसाद र मोतिलाल भुसाल दृष्टिबिहिन दाजुभाई हुन् । जन्मजात आँखा देख्दैनन् । तर, काम नगरे चुलो बल्दैन् । सक्ने र भ्याएसम्मका काम गरेर घर परिवार चलाएका थिए ।
मंसिर ४ गते साँझ घरगोठमा एक्कासी आगलागी भयो । बिपन्न दृष्टिबिहिन परिवारको गोठका पशु चौपाय बाहेक केहि जोगिएन । ‘जहाँ होचो त्यहिँ घोचो’ । घर गोठसंगै फेर्ने कपडा रहेनन,’पीडत खिम बहादुर भुसालले भने,‘दैव लागेसी जलेको घरमा ढलेको मन बुझाएर बसेका छौ ।’ अहिले दृष्टिबिहिन दाजुभाईको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन् ।
‘गाउँलेले नबस्न भन्थे । तर, बारी कुनामा त्रिपालमुनी जाडो थेग्न सकस प¥यो,’उनले भने,‘जोखिम मोलेरै भएपनि जलेको घरकै तलामुनी बसिरहेका छौ ।’ आफ्नो आर्थिक अवस्था नभएपछि सहयोग पाए घरकै पुर्ननिर्माण गर्ने सोच रहेको बताए । गाउँपालिकाले तत्काल केहि खाद्यान्य, कम्बल र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
जस्तापातासहित अरु सहयोगको पनि पहल भइरहेको गिरीले बताए । दृष्टिबिहिन परिवार आगलागीको कारण बिचल्लीमा परेपछि तम्घास तथा बुटवलमा सहयोग अभियान संचालन भएको छ ।
पीडित परिवारका छिमेकी तथा अभियान्ता शेषकान्त गौतमले परिवार दृष्टिबिहिनसंगै आर्थिक रुपमा बिपन्न भएकाले मानवीय रुपमा सहयोगका लागि सवैलाई आग्रह गरे । सोमबार गुल्मी अस्पताल, जिल्ला प्रशासन लगायत तम्घासका विभिन्न व्यक्ति र संस्थाहरुबाट करिव ३० हजार सहयोग संकलन गरिएको गौतमले बताए ।
‘गरिव तथा बिपन्न परिवारको दुखमा देखाउने मानवीयतानै सवैभन्दा ठुलो धर्म हो,’उनले भने,‘दृष्टिबिहिन भुसाल परिवारको अवस्था निकै दर्दनाक रहेको छ ।’