अमरकल्याण महिला विकासको साधारण सभा सम्पन्न

0
259

हुमाकान्त पोखरेल
मंसिर २५,२०७८ गुल्मीः अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, रेसुङ्गा नगरपालिका –९ गुल्मीको साधारण सभा सम्पन्न भएको छ ।
मंगलबारबाट सुरु भएको १६ औँ साधारण सभा समापन गरिएको हो । कार्यक्रमको अवसरमा लेखापरीक्षण लगायत संस्थाका विभिन्न प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तै सातजना ज्येष्ठ सेयर सदस्यहरुलाई हर्लेस एवम् दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष गंगा थापा, पूर्व सदस्य विष्णुमाया श्रीस र लेखा समिति सदस्य दीपा पन्थीलाई दोसल्ला, मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो ।
२०६२ सालमा स्थापना भएको सहकारीले रेसुङ्गा नगरपालिकालाई कार्यक्षेत्र बनाएको छ ।

हाल सहकारीका ७८२ सेयर सदस्य रहेका छन् । सहकारीको कुल पुँजी चार करोड ५३ लाख ७१ हजार २१ रहेको छ । भने सेयर पुँजी एक करोड १२ लाख ४२ हजार पाँच सय एवम् कोषमा ३८ लाख चार हजार ३९२ रहेको छ ।

गत आर्थिक बर्षमा सहकारीमा चार करोड ५३ लाख ७१ हजार २१ रुपैँयाको कारोबार भएको व्यवस्थापक अन्जु पन्थीले जानकारी दिइन् । हाल सहकारीले सुपथ पसल संचालन, बेसार मसला प्रशोधन उद्योग, बचत तथा ऋणको काम, सामुदायिक सेवा केन्द्र संचालन लगायतका काम गर्दै आइरहेको छ ।

अब सहकारीले सेयर सदस्यहरुलाई उद्यमी बनाउको लागि एक करोड ऋण लगानी गर्ने र अटो रिक्सा संचालन गर्ने तयारी गरिरहेको व्यवस्थापक पन्थीले जानकारी दिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाकी उपमेयर सीता भण्डारीले सहकारीले महिलाहरु एकजुट भएर काममा खटिए सफलता प्राप्त हुने उदाहरण दिएको भन्दै पशंसा गरिन् ।
त्यसका साथै नगरपालिकाबाट पनि सहकारीको लागि आवश्यक सहयोग प्रदान गर्ने उनले प्रतिवद्धता जनाइन् । कार्यक्रममा विभिन्न जनप्रनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

SHARE