द्वन्द्वकालमा किनबेच भएका घरजग्गा मालपोतमा पास हुन थाले

0
665

मंसिर १३, २०७६ रुकुम . लामो समयको छलफलपछि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका स्थानीयहरूले द्वन्द्वकालमा तत्कालीन माओवादी जनसत्तामा दर्ता गरेका घरजग्गामा लिखत मालपोत कार्यालयमा दर्ता गरेका छन्। सशस्त्र द्वन्द्वकालमा तत्कालीन जनसत्तामा जग्गा दर्ता गरेका बाँफीकोटका स्थानीयले गाउँमा सरकारी सेवा शिविर गएको अवसरमा धमाधम मालपोत कार्यालयमा दर्ता गरेका हुन्। जसका लागि स्थानीय सरकार र राजनीतिक दलमार्फत पहल भएको थियो। द्वन्द्वकालमा माओवादी जनसत्तामा पास गरेका घरजग्गा शान्ति प्रक्रियापछि अवैधानिक भन्दै केहिले दुख दिएका कारण किन्ने व्‍यक्तिहरू मारमा परेका थिए। गाउँपालिकाले सोमबारदेखि तीनदिने शिविर राखेर गाउँमै जनसत्ताका लिखतलाई मालपोतमा दर्ता गराएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए। उनका अनुसार बाँफीकोट गाउँपालिकामा रहेका ४ सय ५६ कित्तामध्ये १ सय ५४ कित्ता मात्र नामसारी हुन बाँकी छन्। ’जिल्ला छाडेर अर्को जिल्ला बसाइँ सरेका, बसाइँ सरेर पनि विदेश गएका, कतिको नामसारी गर्नुपर्ने मान्छे घर नभएका, सूचना नपाएकाहरूको मात्रै जग्गा बाँकी रहेको हो, अन्य धेरैले गर्नुभयो’ अध्यक्ष केसीले भने, ‘बाँकी व्‍यक्तिहरुले त जतिसक्दो छिटो उक्त कार्य गर्न सूचना गरेका छौं, उक्त सूचनाको अटेर गर्नेलाई गाउँपालिकाको सिफारिस लगायतका अन्य सेवा रोक्ने पनि निर्णय भएको छ।’ बाँफीकोट गाउँपालिकामा २ सय ९४ घरपरिवारले जनसत्तामा दर्ता भएको जग्गा वैधानिक रूपले आफ्नो नाममा ल्याएका छन्। गाउँपालिकाका अनुसार १ सय ४७ घरधुरीले नगद बुझाएको लामो समयपछि जग्गा आफ्नो नाममा गराएका छन् भने १ सय ४७ घरधुरीले अर्कैलाई बेचिसकेको जग्गा रजिस्ट्रेसन पास गरिदिएका छन्। आफूले कजाउँदै आएको घरजग्गा अर्कैको नाममा रहेका कारण ठूलो चिन्तामा रहेकाहरू यसबाट खुसी भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सदस्य महेन्द केसीले बताए। यसबाट तत्कालीन नेकपा माओवादीमार्फत घरजग्गा पास गराएकाहरुले हालको सरकारी वैधानिकतासमेत पाएका छन्। २०५९ सालमा स्थानीय डिलबहादुर दाहालबाट ३० हजारमा जग्गा किनेका धनबहादुर दमाईले आफ्नो नाममा जग्गा आएपछि खुसी लागेको बताए। डिलबहादुरकी श्रीमती मैमीले बिहीबार उक्त जग्गा नामसारी गरिदिएकी थिइन्। सशस्त्र द्वन्द्व उत्कर्षमा जाँदै गर्दा गाउँमा सरकारको उपस्थिति शून्य थियो। त्यस्तो अवस्थामा माओवादीले जनसत्तामार्फत सर्वसाधारणको घरजग्गा किनबेचको रजिस्ट्रेसन पास गरिदिएका थिए।थाहाबाट

SHARE