गुल्मी एमालेको पालिका अधिवेशन : एकमा निर्वाचन, नौ मा सर्वसम्मत

दूईवटा पालिकामा नेतृत्व चयन हुन बाँकी

0
253

हुमाकान्त पोखरेल
कात्तिक १२,२०७८गुल्मीः नेकपा एमालेको पालिका अधिवेशन अन्तरगत १० वटा पालिकामा नेतृत्व चयन सकिएको छ ।
कात्तिक नौ गतेबाट सुरु भएको सबै पालिकाको अधिवेशन ११ गतेसम्म आइपुग्दा १० वटा पालिकामा नेतृत्व टुंगाएको छ । जसमध्ये एउटा पालिकामा निर्वाचन गरिएको छ भने बाँकी नौ वटामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

एमालेले इस्मा गाउँपालिकामा मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको छ । इस्मामा कुल १५५ मत खसेको थियो । जसमध्ये ९३ मत सहित राजेन्द्र विक्रम कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नारायण पैँयानीले ४५ मत ल्याए । अध्यक्षका अर्का उम्मेद्धवार बिनबहादुर गौतमले १० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नारायण पराजुली सर्वसम्मत भएका छन् । सचिवमा गनु प्रसाद अधिकारी तथा सह–सचिवमा नविन अर्याल निर्वाचित भएका छन् । त्यस्तै सह–सचिवमा कल्पना अधिकारी सर्वसम्मत निर्वाचित भएको एमाले नेता हिरा एसीले जानकारी दिए ।

छत्रकोटमा पीताम्बर अर्याल, मालिकामा ओम कार्की, कालिगण्डकीमा राम्जी ढकाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै चन्द्रकोटमा धातानन्द शर्मा, गुल्मीदरबारमा कृष्ण खनाल, सत्यवतीमा भिमलाल पाण्डे, रुरुक्षेत्रमा फर्सुराम ज्ञवालीले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

मुसिकोट नगरपालिकामा प्रकाश काफ्ले र रेसुङ्गा नगरपालिकामा हरी पोखरेलले पनि सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाएका छन् । एमालेले धुर्कोट र मदाने गाउँपालिकामा नेतृत्व टुंगाउन सकेको छैन । धुर्कोटमा लोक बहादुर केसी र हिम प्रसाद पन्थी मुख्य दाबेदार देखिएकोले अनिश्चितकालका लागि अधिवेशन नै स्थगित गरिएको छ ।

मदाने गाउँपालिकामा प्रेम केसी, प्रेम घिमिरे, सरिता खड्का र चक्रबन्धु भुसालबीच सहमती जुट्न नसक्दा अधिवेशन रोकिएको छ । एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थले चार÷पाँच दिनभित्र रोकिएका पालिकाको नेतृत्व टुंगो लगाउने प्रतिक्रिया दिए ।
युवाको नेतृत्व
नेकपा एमाले इस्मा र मालिका गाउँपालिकामा युवाले नेतृत्व गर्ने अवसर पाएका छन् । इस्मामा अध्यक्ष चुनिएका कुँवर हाल ३१ बर्षका छन् । उनी एमाले गुल्मीका सबैभन्दा कान्छा पालिका अध्यक्ष हुन् । कुँवर ०७१ मा अनेरास्ववियु गुल्मीको संयोजक भएका थिए ।

इस्मामै सह–सचिवको जिम्मेवारी पाएका अर्याल २६ बर्षका छन् । उनी ०७४३ फागुनमा सम्पन्न स्ववियु निर्वाचनमा रेसुङ्गा बहुमुखी क्याम्पसबाट सचिवमा निर्वाचित भएका थिए । मालिकामा अध्यक्षको जिम्मेवारी पाएका कार्की अहिले ३५ बर्षका भए । अनेरास्ववियुमा ०६९ मा उनी जिल्ला अध्यक्ष भएका थिए ।

त्यसैगरी अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष हरी प्रसाद पोखरेल रेसुङ्गा नगरकमिटका अध्यक्ष चुनिएका छन् । पूर्व सचिवालय सदस्य प्रकाश काफ्ले मुसिकोट र रामजी ढकाल कालीगण्डकीको अध्यक्षमा निर्वाचित भएका छन् ।

SHARE