जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड : कर्मचारी नहुँदा सास्ती

0
303

हुमाकान्त पोखरेल
कात्तिक ६,२०७८ गुल्मीः गुल्मीको चन्द्रकोट गाउँपालिका –४ शान्तिपुरकी सुनिता थापा शुक्रबार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आइन् ।
नागरिकता बनाउन आवश्यक पर्ने शैक्षिक प्रमाणपत्र, वडाको सिफारिस लगायत आवश्यक सबै कागजपत्र र टिकट समेत टाँसेकी थिइन् । नागरिकताको आशमा प्रशासन कार्यालयका धेरै कोठा चाहारिन् पनि । प्रशासनका कर्मचारी, कार्यालय सहयोगी, पत्रकार र नागरिक समाज लगायत धेरैसँग नागरिकताको लागि अनुरोध पनि गरिन् ।
तर बिडम्बना उनले नयाँ नागरिकता पाउन भने सकिनन् । थापा बुटबलको सिद्धार्र्थ गौतम बुद्ध क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । दसैंमा घर आएको समयमा नागरिकता बनाउन सदरमुकाम आएकी उनी बिना नागरिकता बुटबल फर्किइन् । ‘दसैंमा घर आएको बेला नागरिकता बनाउन आएको तै पनि रित्तो हात फर्कनुप¥यो ।’ उनले भनिन्, ‘अत्याधिक भिडका कारण कार्यालयले वितरण गरेको टोकन पनि प्राप्त गर्न सकिन ।’
मालिका गाउँपालिका –५ छापहिलेका यम बहादुर परियारलाई पनि नागरिकता प्राप्त गर्न दुई दिन लाग्यो । आफ्नो नयाँ नागरिकता बनाउन बिहीबार नै तम्घास आएका उनले सोही दिन नागरिकता पाएनन् ।
(बिहीबार) अत्याधिक भिड भयो, कर्मचारीहरुले भोलि आउनुस् भने ।’ उनले भने, ‘आज टोकन लिएर नागरिकताको लागि प्रक्रियामा गएको छ, अब एकछिनमा बन्छ होला ।’ शुक्रबार दिउँसो करिब १ बजे उनको नागरिकता बन्यो । नागरिकताकै लागि तम्घासमा बस्दा तीन हजार बढी खर्च भएको उनले बताए ।
‘आएपछि नागरिकता बनाउनै प¥यो ।’ उनले भने, ‘हिज अत्याधिक भिड भएकोले मेरो नागरिकता बन्न सकेन ।’ बिहीबार आफुजस्ता धेरैजना नागरिकता बनाउनबाट बञ्चित भएको उनले सुनाए ।
सुनिता र यम बहादुर नागरिकता नबनेको वा ढिला बनेको प्रतिनिधिमुलक पात्र मात्र हुन् । दसैंको समयमा घर आएकाहरु नयाँ नागरिकता बनाउन आउनु र प्रशासनमा कर्मचारीको अभाव हुनुले नागरिकता बनाउन सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।
प्रशासनमा दसैं र तिहारको समयमा सेवाग्राहीको प्राय भिड हुने गर्दछ । जिल्लामा दसैँअगाडीबाट नै धेरैथोरै भिड भएपनि बिहीबारबाट सेवाग्राहीको अत्याधिक भिड देखिएको हो । बिहीबार गुल्मी प्रशासनबाट १०१ जनाले नयाँ नागरिकता लिएका छन् ।
४३ जनालाई नागरिकताको प्रतिलिपि, ४५ जनालाई पासपोर्ट र ६ जनालाई नाबालकका परिचय पत्र प्रदान गरिएको प्रशासन कार्यालयका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए । त्यस्तै ७४ जनाको नयाँ पावपोर्ट लागि दर्ता गरिएको छ भने आएका ५० जति सेवाग्राहीलाई सेवा दिन नसकेको पन्थीले बताए ।
शुक्रबार पनि कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड थियो । शुक्रबार ५२ जनलाई नयाँ नागरिकता, ४३ जनालाई नागरिकताको प्रतिलिपी, ३८ जनालाई पावपोर्ट वितरण गरिएको छ भने ५५ जनाको नयाँ पासपोर्टका लागि फारम दर्ता गरिएको छ ।
अन्य समयमा एक दिनमा सरदर ५२ नयाँ नागरिकता, ३४ नागरिकताको प्रतिलिपी र ३८ पासपोर्ट वितरण हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।
सूचना अधिकारी पन्थीका अनुसार कार्यालयमा दुईजना प्रशासकीय अधिकृत हुने व्यवस्था भएपनि एकजना मात्रै हुँदा समस्या भएको छ । ‘हस्ताक्षर गर्ने दुईजना प्रशासकीय अधिकृत हुँदा सजिलो हुन्थ्यो, भिडभाडमा पनि एकजना मात्रै हुँदा समस्या परेको हो ।’ उनले भने । यसभन्दा पहिले सेवाग्राहीको भिड हुँदा कारागार कार्यालयबाट कर्मचारी ल्याइ काम गरेपनि अहिले कारागारमा पनि कर्मचारी छैनन् ।
जसले गर्दा सेवाप्रवाहमा समस्या परेको छ । प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले सेवामा प्रशासनका जनशक्तिको अधिकतम प्रयोग गरेको प्रतिक्रिया दिए । थप कर्मचारीको लागि केन्द्रमा आह्वान गरेकोले सोमबारबाट सेवा प्रवाह सहज हुने उनले विश्वास व्यक्त गरे । आइतबारबाट भने कार्यालय समयभन्दा अबेरसम्म बसेर भएपनि सेवा दिने सोचमा रहेको उनले बताए ।

SHARE