कात्तिक ५,२०७८गुल्मीःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग गरेका छन् ।
नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य नरेश भण्डारीले धुर्कोट गाउँपालिका –५ वस्तुका राजेश कुँवर र कस्मिरा कुँवरलाई नगद एवम् शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
राजेशले हिमालय माविमा कक्षा सातमा पढ्छन् भने कस्मिराले कक्षा ११ मा पढ्छिन् । नाताले राजेश भाइ र कस्मिरा दिदी हुन् । आफ्नो जन्मदिनको अवसरमा भण्डारीले शुक्रबार बिहान उनीहरुको घरमै पुगेर कापी र नगद दुई÷दुई हजार प्रदान गरेका हुन् ।
लामो समयसम्म अनेरास्ववियुको विद्यार्थी संगठन र त्यसपछि अहिले एकीकृत समाजवादी पार्टीमा सक्रिय भण्डारीले आफुसँग धेरै रकम भएर नभई विद्यार्थीको भविष्यको लागि सहयोग गरेको बताए । त्यसका साथै उनले राजेश र कस्मिराको पढाइमा आफुले विभिन्न क्षेत्रबाट सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
उनीहरुकी आमा लक्ष्मीले सहयोग गरेकोमा नेता भण्डारीलाई धन्यवाद् दिइन् ।