बर्दियामा दशैंमा नाचिएन थारू बस्तीमा सखिया र हुरदङ्गवा नाच

0
514
फाइल फोटो

विमला ढकाल

असोज२९,२०७८बर्दिया : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, र सुर्खेतमा बसोबास गर्ने थारू समुदायको दशैं अष्टमीका दिनदेखि सुरु हुन्छ।

अष्टमीको बेलुका नयाँ चामलको परिकार ‘ढिक्री’ पकाएर आफ्ना देवतालाई सम्झिन्छन्। यस्तै, भगवानका नाममा ६ देखि ८ वटासम्म लोकल कुखुरा काटेर पूजा गर्छन्। ढिक्री, मासुलगायतका परिकार खाएर रमाइलो गर्छन्। युवाहरु रातभर मादल बजाउँदै सखिया र हुरदङ्गवा नाचगान गर्छन्।

यस्तै‚ टीकाको अघिल्लो दिन पितृलाई सम्झिने अर्थात् आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी श्राद्ध गरेझैँ पितृलाई पिण्ड दिने ९पित्रहवा बगाउने० गर्छन्। नवमीको विहानैदेखि थारू समुदायले पित्रहवा बगाउने तयारीमा जुट्छन्।

पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायका दंगाहा तथा देसाउरीहरुले दशैंको टिकाको अघिल्लो दिन आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी नजिकैको नदी वा खोलमा पितृलाई पिण्ड दिने परम्परागत छ।

हुरदङ्गवा नाचमा सबैजना पुरुषहरु रहने गर्दछन् भने एकजना पुरुषलाई महिलाको पहिरनमा सजाएर मादलेसँगै नाच्छन्। अन्य युवाहरु ताली पिट्दै हुक्कैहुक्कै भनेर कुद्ने उफ्रने गर्दछन्।

घटस्थपनाका दिन जमरा राखेर दशैं सुरु भए पनि थारू समुदायले द्वितीयाका दिन जमारा राख्ने र नवरात्राको दिन अर्थात् टीकाको अघिल्लो दिनसम्म आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी पितृलाई पित्रहवा बगाउने गर्छन्। त्यसको भोलिपल्ट टिका लगाउने रहेको थारू अगुवा ठाकुरबाबा नगरपालिका–२ का कालीबहादुर थारूले बताए। तर‚ पछिल्लो समय यी परम्परा कम हुँदै गएको थारू अगुवा विष्णु थारूले बताए।

सुनसान थारू बस्ती

कोरोना महामारीका कारण गाउँगाउँमा सखिया नाच हुन नसकेपछि यस वर्ष दशैंमा थारू बस्ती सुनसान भएको छ।

बर्दिया, बाँके कैलाली लगाएतका जिल्लामा यो वर्ष दशैंको सखिया नाच हुन सकेको छैन। विगतका दशैंमा सखिया, झुमरा, मुङग्रहुवा नाच र मादलको तालले थारू गाउँमा बेग्लै रौनक महसुस हुन्थ्यो।

दशैंको अवसरमा नाचिने सखिया, झुमरा, मुङ्ग्रहुवा लगायतका थारू मौलिक नाच समूहमा नाचिने नाच हुन्। विगत वर्षमा दशैं आउनुभन्दा एक महिना अगाडि नै थारू गाउँमा यस्ता नाच नाचिन्थे।

‘सखिया नाचका कारण चाडपर्वमा बेग्लै रमाइलो महसुस हुन्थ्यो यो वर्षको दशैं, दशैं जस्तो छैन, सुनसान छ‚’ बर्दियाको मधुवनमा गणेश थारूले भने। सखिया नाचमात्रै नभई दशैं, दीपावलीमा देखाइने मुङग्रहुवा नाच पनि गर्न नसकिएको गणेशले बताए।

SHARE