वडाबाटै सेवा पाउँदा बगनासकालीका नागरिक खुसी

0
267

सुशीला रेग्मी
असोज२६,२०७८ पाल्पाः सानो योजनाका काम सम्पन्न गर्न घण्टौँ समय बिताएर पालिकाको कार्यालयमा धाउनुपर्ने बाध्यता कायमै छ । कर्मचारीबाट कहिले के पुगेन त कहिले के मिलेन, यस्तै विभिन्न झमेला संग नागरिक जुधिँरहेका छन् ।
नागरिकको समस्यालाई मध्यनजर गर्दै पाल्पाको एक पालिकाले भने वडाबाटै सबै योजनाका काम सम्पन्न गर्ने अभियान सुरु गरेको छ । यहाँको बगनासकाली गाउँपालिकाले पालिकाको केन्द्रबाट हुने योजना संभmौता, खाता सञ्चालन, फरफारकका सबै काम वडा तहबाटै सुरु गरेपछि धेरै सजिलो भएको बताउनुहुन्छ, बगनासकाली ९ बस्ने मुना ढकाल ।
समाजको लागि केही गर्छु भन्ने मनसाय भएपनि सानातिना काममा अल्झन पर्दा जिम्मेवारी बहन गर्नै निकै कठिन समस्या भोग्नुभएकी ढकाल अहिले वडाबाटै सबै सेवा पाउँदा दङ्ग हुनुहुन्छ ।
उहाँलाई सानो योजनालाई पनि सम्झौता गर्न गाउँपालिकाको कार्यालयमा जानुपर्ने समस्याले काम गर्न धेरै अप्ठ्यारो थियो । अहिले भने गाउँपालिकाले वडामा सञ्चालित वडास्तरिय तथा पालिकास्तरिय सबै योजनाको काम वडाबाटै सम्झौता गरी सेवा दिने अभियान सुरु गरेपछि सिंहदरबारको अधिकार बल्ल गाउँमा आइपुगेको उहाँ अनुभुती गर्नुहुन्छ ।
“सानातिना योजनाका लागि पनि सम्भmौता गर्न गाउँपालिकाको कार्यालयमा जानुपर्दा आउन जान समय धेरै खर्च लाग्ने, कर्मचारीले सानो कागज नपुगेपछि फिर्ता गर्ने, फेरी फर्केर अर्को दिन धाइरहनु पर्ने समस्याले उपभोक्ता समितिमा बसेर काम गर्न धेरै कठिन थियो, अहिले वडाबाटै सबै सेवा पाउँदा धेरै राहत मिलेको छ, भुक्तानी लिन मात्रै गाउँपालिकाको कार्यालयमा गए भयो” उहाँले भन्नुभयो ।
ढकालले वडास्तरिय महिला लक्षित समुहमा रहेर काम गरिरहनुभएको छ । उहाँजस्ता यहाँका नागरिकलाई वडास्तरिय तथा पालिकास्तरिय योजना सम्भmौता, बैंक खाता खोल्ने सबै काम वडाबाटै हुदा बल्ल सिंहदरबारको झल्को अनुभुती गर्न थालेका छन् । वडामा सबै कागजपत्र मिलाएपछि रकम भुक्तानीका लागि मात्रै गाउँपालिकाको कार्यालयमा जान पाउँदा नागरिक उत्साहित छन् ।
यहाँको वडा नं ९ को कार्यालयमा वडाबाटै योजना सम्झौता कार्य सुरु भएपछि वडामा सञ्चालित योजनामध्ये ७५ प्रतिशत योजना सम्भmौता गर्ने काम सकिएको वडा अध्यक्ष थानेश्वर तिमिल्सिना बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “वडाका कर्मचारी, जनप्रतिनिधि सबै जुटेर योजना सम्झौता गर्ने कार्य धमाधम भएको छ, पालिकाको कार्यालयमा जाने झण्झट अन्त्य भएको छ, वडाको जनशक्ति मात्रै नभई पालिकाबाट पनि जनशक्ति खटाएर काम गरिएको छ” ।
यस वडाले पालिका भरीमा सबैभन्दा छिटो योजना सम्पादन सम्पन्न गर्ने कार्य गरेकाले यसभन्दा अघि लगातार उत्कृष्ट वडाका रुपमा तीन पटक गाउँपालिकाले पुस्कृत गरेको छ । यहाँको वडामा यस आर्थिक वर्षमा २४ वटा वडागत र दुई वटा पालिकास्तरिय, एक वटा प्रदेशस्तरिय योजना परेका छन् ।
एउटै योजनाका लागि पटक पटक गाउँपालिकाको केन्द्र धाउनुपर्ने समस्याले नागरिक हैरानीमा थिए ।
नागरिकबाट पालिकाको केन्द्रमा सानो कामका लागि पटक पटक धाइरहनुपर्ने गुनासो, पालिकाका कर्मचारीले सबै वडाको काम गर्नुपर्ने हुदा भनेको समयमा काम नहुने समस्या देखिएपछि वडाबाटै सेवा दिन थालेपछि काम गर्न सजिलो भएको वडा नं ८ का वडा अध्यक्ष गणेश बस्यालले बताउनुभयो ।
तीन वर्षको अवधीलाई हेर्दा सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिएपनि पटक पटक सानो कामका लागि पालिकाको केन्द्र धाइरहनुपर्ने, भनेको समयमा काम नहुदा सास्ती सधै खेप्नुपर्ने अवस्थालाई ध्यानमा राखी पालिकाले यस आर्थिक वर्ष देखि वडाबाटै योजनाका काम सम्पन्न गर्ने अभियान चलाएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउनुहुन्छ ।

“योजनाका सबै कार्य सम्पादन वडाबाटै हुन्छ, एक पटक रकम भुक्तानीको लागि मात्रै गाउँपालिकाको केन्द्रमा आए भयो, अब साना योजनाका कागज बोकेर पालिका धाउनु परेन, हामी कसरी हुन्छ नागरिकलाई सहज रुपमा सेवा दिन तयार छौँ” गाउँपालिकाका अध्यक्ष बस्यालले भन्नुभयो ।
हालैमात्र यहाँको पालिकामा वडाबाट योजना सम्झौता अभियान सञ्चालन गरिएको छ । केही वडामा यो अभियान धमाधम चलिरहेको छ भने केही वडाले भने दशै विदा पश्चात् सुरु गर्ने तयारी गरेका छन् । यहाँको पालिकाले सुरु गरेको यो अभियान पाल्पामै उदाहरणिय बनेको छ ।
वडाबाटै सबै काम हुने भएपछि छिटो छरितो योजनाका काम सम्पन्न हुनेछन् । कतिपय योजना असार लागेपछि सम्झौता गरी हतार हतारमा वजेट सक्ने गरी काम भएका छन् ।
अन्तिम समयमा आएर हतारो गरेर काम सक्ने परिपाटीले न काम गुणस्तरिय बनेको छ न कुनै उपलब्धी नै दिन सकेको छ । हतार हतारमा आर्थिक वर्ष सकिन लाग्दा अन्तिम समयमा आएर सम्झौता गरी बालुवामा पानी हालेझै राज्यको लगानी कयौँ ठाउँमा खेर गइरहेका छन् ।

SHARE