तिलाचन पाण्डे
असोज१४,२०७८ गुल्मीःगुल्मीमा वडा कार्यालय देखि पसलहरु तोडफोड गरी नगद र चोरीका घटनाहरु हुने क्रम बढीरहेको छ ।
असोज ११ गते राती कालीगण्डकी गाउँपालिका वडा नम्बर एक हर्मिचौरमा वडा कार्यालय सहित सात स्थानमा तोडफोड गरी नगद चोरी भयो । तोडफोड र चोरीमा संलग्न ब्यक्ति पहिचान हुन नपाउँदै सत्यवती गाउँपालिका वडा नम्बर एक अस्लेवामा पनि वडा कार्यालय तोडफोड गरी चार हजार नगद चोरी भएको छ ।
(सोमबार) राती अस्लेवाको वडा कार्यालय, बिद्यालय र पसलहरु तोडफोड गरी नगद चोरी भएको उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अस्लेवामा संजय थापाको मेडिकलबाट तीन हजार पाँच सय ,बलाराम कुँवरको नास्ता पसलबाट दूई हजार , राम माध्यमिक बिद्यालयको कार्यालय तोडफोड गरी आठ हजार९४८ , एकराज पाण्डेको किराना पसलबाट १ लाख र खीमानन्द पाण्डेको किराना पसलबाट ५० हजार नगद चोरी भएको उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।यस्तै अस्लेवाकै महालक्ष्मी सिलाइ केन्द्रको कार्यालय पनि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीमा कार्यालय देखी घर र पसलहरु तोडफोड गरी चोरी गर्नेको खोजी कार्य जारी रहेको पाण्डेले बताउनुभयो ।
प्रहरीको एम्बुस ड्युटी
कार्यालय , पसल र घरहरु तोडफोड गरी चोरी गर्नेको पहिचान गर्नका लागि सादा पोशाकमा प्रहरीलाई एम्बुस ड्युटीमा खटाइएको पाण्डेले जानकारी दिनुभयो ।
तोडफोड र चोरी गर्नेको पहिचान गर्नका लागि प्रहरीहरुलाई सादा पोषाकमा लुकेर मुख्य नाका र मुलबाटोमा परिचालन गरिएको पाण्डेले दाबी गर्नुभयो ।
पहाडी भू भाग ,भौगोलिक विकटता भएका कारण र चोरबाटाहरु धेरै भएकाले तोडफोड र चोरीमा संलग्नको पहिचान गर्नमा समस्या भएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो । चोरी गर्नेहरुले बिशेष गरी ताल्चा लगाएका घरहरु र पसलहरुलाई लक्षित गर्ने गरेको प्रहरीले जनाएको छ ।
कुनै पसलहरुबाट रिचार्ज कार्डहरु पनि चोरी भएकाले उक्त रिचार्ज कार्डको प्रयोगबाट पनि उनीहरुको पहिचान हुने पाण्डेले बताउनुभयो । अहिलेसम्म रिचार्ज कार्डको सिरियल नम्बर अनुसार प्रयोग भएको नपाइएको प्रहरीले जनाएको छ ।
आफन्त र चिनजानकै ब्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान
तोडफोड र चोरीमा नजिकैका आफन्त र चिनजानकै ब्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
कसको घरमा के छ र पसल कस्को बन्द छ भन्नेमा आफन्तै र नजिकका ब्यक्तिहरुलाई मात्रै थाहा हुने भएकाले उनीरुको संलग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।
यस्तै गाउँमा कपडा लगायतका अन्य सामानहरु बोकेर बेच्न हिड्नेहरु पनि घटनामा संलग्न हुन सक्ने भएकाले उनीहरुलाई पनि निगरानीमा राखिएको प्रहरीको दाबी छ ।
गाउँमा कोही नयाँ मान्छे वा त्यस्ता शंकास्पद ब्यक्तिहरु आए प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ ।