
अनिल खत्री
१३ असोज, गुल्मी :गुल्मी जिल्लाको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो ।
पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्र र मदाने वन क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ । पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाको अबस्थाको बारेमा उल्लेख गरिएको छ ।
रेसुङ्गा र मदानेमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।
जिल्लाको रेसुङ्गा र मदानेमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा २५३ वटा र मदाने वन संरक्षीत क्षेत्रमा २६४ वटा प्रजातीका चराहरु फेला परेको पन्थीले बताउनु भयो ।
रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । दुर्लभ चरा भेटिएपनि बासस्थानमा दपरिर्वतन, बिद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको छ ।
रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९०३ हेक्टर रहेको छ । त्यस्तै मदाने वन संरक्षण क्षेत्रमा ५ हजार ७२१ हेक्टर क्षेत्रफल रहेको छ ।
यी क्षेत्रमा विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।








