अक्सिजन प्लान्ट निर्माणमा रेसुङ्गा बहुमुखी क्याम्पसको आर्थिक सहयोग

0
587

सन्तोष महतारा
गुल्मी, ०६ असोज : गुल्मीमा निर्माणधिन अवस्थामा रहेको अक्सिजन प्लान्ट निर्माणमा रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको छ । गुल्मी अस्पतालमा बनिरहेको अक्सिजन प्लान्टको लागि क्याम्पसले ३९ हजार ८ सय २२ रुपैयाँ सहयोग गरेको रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए ।

रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापन गराउने प्राध्यापक र सम्पुर्ण कर्मचारीहरुबाट संकलित रकम गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरिएको हो । बहुमुखी क्याम्पस वि।सं। २०३९ मंसिर २२ गते स्थापना भएकोले क्याम्पसले ३९ हजार ८ सय २२ रुपैयाँ संकलन गरेको थियो । कोभिडको दोस्रो लहरले आक्रान्त पारेको गुल्मीमा अक्सिजन अभावमा कुनै गुल्मेलीले ज्यान गुमाउन नपरोस् भनी अक्सिजन प्लान्ट निर्माण कार्य थालिएको छ ।

क्याम्पस प्रमुख हरि बहादुर खत्रीसहित पुगेका क्याम्पसका प्रध्यापक र कर्मचारीले रकम गुल्मी अस्पताललाई हस्तान्तरण गरेका थिए । अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको अस्पतालका प्रमुख पच्याले बताए । जडानको काम र निर्माण गरिएको भवनको छानो निर्माण बाँकी रहेकोले अब छिट्टै प्लान्ट संचालनमा आउने अस्पतालका डाक्टर पच्याले बताए । गुल्मी अस्पतालको अत्याधुनिक भवन पनि बन्न सुरु गरिसकेको छ ।

SHARE