संजय रेग्मीलाई दोहोरी गीत प्रतिष्ठानको सम्मान

0
243

असोज३,२०७८पर्वत :लोक तथा दोहोरी गीत प्रतिष्ठान, पर्वतले संजय रेग्मीलाई सम्मान गरेको छ। प्रतिष्ठानको १७औँ वार्षिक साधारण सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले रेग्मीलाई सम्मान गरेका हुन्।

पत्रकारिताको माध्यमबाट नेपाली लोक तथा दोहोरी गीतको बारेमा कलम चलाएको तथा लोकगीत भित्रका विभिन्न आयामको बारेमा सामग्री तयार पारेर लोक साङ्गीतिक क्षेत्रलाई सशक्त बनाउन भूमिका निर्वाह गरेका कारण जिल्लाका रेग्मीलाई सम्मान गरिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले बताए।

‘लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई रचनात्मक तरिकाले सहयोग गर्दै आउनुभयो। लोक सङ्गीतभित्र देखिएका विकृतिलाई हटाउन मिडियाका माध्यमबाट निभाउनुभएको भूमिका महत्त्वपूर्ण छ’ उनले भने, ‘हामीले हरेक वर्षको साधारण सभामा लोक सङ्गीतका लागि योगदान गर्नुहुने व्यक्तित्वलाई सम्मान गर्दै आएका छौँ। नेपाली मौलिक संस्कृति र भाखा बोकेको लोकसंगीतको संरक्षणमा हामी सबैको उत्तिकै दायित्व छ।’

पत्रकार रेग्मीलाई सम्मान गर्दै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बि।जी ले हरेक क्षेत्रलाई खबरदारी गर्ने काममा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सबै पत्रकारहरूले संस्कृतिभित्रको विकृति हटाउनको लागि कलम चलाउनुपर्ने बताए। समाज रूपान्तरणमा पत्रकारको भूमिकाले दिशा निर्देश गर्ने भएकाले पनि हरेक क्षेत्रमा पत्रकारिता सँगसँगै आउने उल्लेख गरे।

SHARE