भदौ२४,२०७८गुल्मीः जिल्लाको छत्रकोट गाउँपालिकाले ३१ जना कृषकलाई मासिक एक हजारका दरले कृषक पेन्सन (प्रोत्साहन भत्ता)प्रदान गरेको छ ।
बार्षिक तीन लाख ४० हजार रुपैयाँ भन्दा बढी आम्दामी गर्ने कृषकलाई पालिकाले तयार गरेको कार्यबिधिको आधारमा ३१ जना क बर्गका किसानलाई मासिक एक हजारका दरले प्रोत्साहन भत्ता प्रदान गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुन्यप्रसाद पौडेलले जानकारी दिए ।
गत असार २२ गतेको गाउँसभाको बैठकले ३१ जना कृषकहरुलाई छनोट गरी प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय गरिएकाले असार महिनाको मासिक एक हजारका दरले प्रदान गरिएको हो ।
जसअनुसार वडा नम्बर १ का ९ जना ,२ का ३ जना ,३ का ९ जना , ४ का ८ जना,५ का २ जना कृषक क बर्गमा छनोट भएका हुन् ।
गाउँपालिकाका बिभिन्न वडामा गरी करिब दूई सय भन्दा बढी कृषकहरुले ब्यबसायीक रुपमा कृषि तथा पशुपालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका आशिंक कृषकहरुले समय अनुसारको कृषि तथा पशुपालन गर्दै आएका छन् ।
छत्रकोट गाउँपालिका वडा नम्वर एक हुँगाका कृषक दानबादुर पल्लीले गाउँपालिको सुरु गरेको कृषक पेन्सन तथा प्रोत्सान भत्ताले कृषकरुलाई प्रोत्साहन मिलेको बताए ।
उनले कृषि र पशुपालनको माध्यमबाट मासिक एक लाख रुपियाँ भन्दा बढी आम्दामी गर्छन भने १२ जना भन्दा बढी कामदारहरुलाई रोजगारी पनि प्रदान गरेका छन् ।
ब्यबसायीक रुपमा कृषि र पशुपालन गर्ने कृषकहरुको उत्पादन र आम्दामीको आधारमा पेन्सन अर्थात प्रोत्साहन भत्ताको ब्यबस्था गरिएको कृषि शाखाकी प्रमुख सपना भण्डारीले जानकारी दिइन् ।
यता गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले कृषकहरुको आयआर्जनमा बृद्धि गर्न , कृषि र पशुपालनको माध्यमबाट आत्म निर्भर बनाउनका लागि कृषक पेन्सन अर्थात प्रोत्सान भत्ताको कार्यक्रम लागु गरिएको जानकारी दिए ।
चालु आर्थिक बर्षमा अधिकाशं क बर्गका किसानलाई पेन्सन अर्थात प्रोत्साहन भत्ता दिने गाउँपालिकाको योजना रहेको गाउँपालिकाले जनाएको छ ।