चन्द्रकोट ८ मजुवाका ब्यापारी : दर्ता एक ब्यापार अनेक

0
1290

तिलाचन पाण्डे
भदौ१९ ,२०७८गुल्मी :चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ मजुवा बजारमा छबिलाल बिश्वकर्माले तामाका भाडा मर्मत तथा खरिद बिक्री गर्ने उद्येश्यले शिद्धबाबा भाडा पसल दर्ता गरे ।
२०७३ फागुन २२ गते तत्कालिन घरेलु तथा साना उद्योग बिकास समिति गुल्मीमा तामाका भाडा मर्मत तथा खरिद बिक्री गर्ने उद्येश्यले पसल दर्ता गरे पनि तामाका भाडाहरु बिक्री बितरण हुन छाडेकाले अन्य सामग्रीहरु बेच्न थालेको बिश्वकर्माले बताए । तर उनले तामाका भाडाहरु मर्मत तथा खरिद बिक्री गर्न छाडे पनि ब्यापारको उद्येश्य भने कानुनी रुपमा परिवर्तन गरेनन् ।
उनले पसलमा अहिले उद्येश्यसंग मेल नखाने ग्यास चुलोका सामग्री लगायत अन्य धेरै थरीका सामानहरु बिक्री बितरण गर्दै आएका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा बजार अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।

इजाजत वीना चुरोट सुर्ति बिक्री बितरण
यस्तै मजुवा बजारमै संचालनमा रहेको गणेश स्टोर्स,लक्ष्मी किराना पसल,संजय सपिङ सेन्टर, शिब स्टोर्सले इजाजत नलिई सुर्ति र चुरोट बिक्री बितरण गर्दै आएको पाइएको छ । उनीहरुले सुर्ति जन्य भोला ,सुपरपावर र चुरोट बिक्री बितरण गरेकाले करिब २ लाख रुपैयाँ बराबरको सुर्ति , भोला र चुरोट बरामद गरिएको गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
गैर कानुनी रुपमा चुरोट , सुर्ति,भोलाहरु बिक्री बितरण गरिएकाले उक्त सामग्रीहरु बरामत गरिएको भण्डारीले बताए ।
यस्तै किराना पसल तथा होलसेल पसलहरुमा एग्रोभेटका बिउँ बिसादीहरु राखेर बेच्ने समेत गरेको पाइएको छ ।
मजुवामै संचालनमा रहेको बर्षा होटलले पनि होटल बाहेक अरु इजाजत वीनाका सामग्रीहरु बिक्री वितरण गरेको पाइएको छ । सो होटलमा फलफूल लगायतका अन्य सामग्रीहरु पनि बिक्री बितरण गरेको पाइएकाले कारोवार थप गरी संचालन गर्नका लागि अनुगमन टोलीले आग्रह गरेको हो ।
बजार अनुगमनको क्रमलाई अभियानकै रुपमा निरन्तरता दिने र गैरकानूनी रुपमा संचालन गरेको पाइए कारवाही पनि गरेरै छाडने भण्डारीले दाबी गरे ।

१० हजारसम्म जरिवाना गर्ने चेतावनी
यता घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले पहिले कारोवार थप गर्नका लागि आग्रह गरिएको बताए। यदि कारोवार थप नगरी पसल ब्यबसाय संचालन गरे लुम्बिनी प्रदेशको प्राइभेट फर्म दर्ता ऐन २०७६ अनुसार १० हजार सम्म जरिवाना गर्ने चेतावनी दिए ।
अनुगमन समितिले १० हजार रुपैयाँ बराबरको सुजी , कनिका चामल र सस बरामद गरी नष्ट गरेको छ ।
बजार अनुगमनका क्रममा पसलहरुमा मूल्य सूचि नराख्ने, पसलको नाम सहितको बोर्ड नराख्ने , दर्ता तथा नवीकरण नगरी पसल संचालन गर्ने गरेको पाइएको हो ।
यस्तै अनुगमनकै क्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले मजुवामा रहेको मालपोत र नापी कार्यालयको समेत अनुगमन गरेका थिए ।
अनुगमनमा गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीका प्रमुख अनुसन्धान अधिकृत दिनेश पोखरेल ,घरेलु तथा साना उद्योग कार्यालयका नारायण पन्थी, उद्योग बाणिज्य संघका प्रतिनिधि ,प्रहरी र चन्द्रकोट गाउँपालिकाका कर्मचारीको उपस्थिती रहेको थियो ।

SHARE