गुल्मीकी प्रजिअद्धारा घरमै पुगेर नागरिकता प्रदान

0
339

सन्तोष महतारा
भदौ१६,२०७८गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउन आउन नसक्नेहरुका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरघरमा पुगेर नागरिकता बितरण गरेकी छिन् ।
बुधबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा बस्ने ५० वर्षीया गोमा थापालाई प्रमुख जिल्ला अधिकारी शर्माले उनको घरमै पुगेर नागरिकता हस्तान्तरण गरेकी हुन् ।

मानसिक अवस्था कमजोर भएको र गोठमा काम गर्दै गर्दा लडेपछि घाइते भई उपचार नपाएर विगत १० वर्षदेखी अपाङ्ग जिवन बिताइरहेकी मङ्गलबार मात्र ५० वर्ष पूरा भएकी गोमा थापालाई बुबा ज्ञान बहादुर थापाको नामबाट नागरिकता प्रदान गरिएको हो ।
मानसिक अवस्था कमजोर र त्यसैमाथि अपाङ्ग भई दुवै खुट्टा र दुवै हात टोकेर मात्र हिड्न सक्ने गोमा मुसिकोट नगरपालिका ३ मा दिदिसँग बस्दै आएकी छन् । ३४ वर्ष पछि भएपनि नागरिकता पाएकोमा उनकी दिदि टिका कुमारी घिमिरेले खुसी ब्यक्त गरिन् । दिदि घिमिरे प्रमुख जिल्ला अधिकारी सहितको समूह घरमा आएर नागरिकता दिने कुरा आफ्नो कलपना बाहिरको कुरा भएको भन्दै खुसीले गदगद् भएकी थिइन् ।

नागरिकता प्राप्त गरेकी गोमाका भतिज कमल घिमिरे आफुहरु प्राय घरमा नहुने अनि त्यसैमाथि सानिमा अशक्त भएकोले नागरिकता बनाउन जान नसकेको भन्दै नागरिकता घरमा आएर उपलब्ध गराएकोमा प्रमुख जिल्ला अधिकारी शर्मा र नगरपालिकाका प्रमुख सोमनाथ सापकोटालाई बिषेश धन्यवाद दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रशासनसम्म पुग्ने अवस्था उनको नभएको कारण घरमै पुगेर नागरिकता प्रदान गरेको र अब सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित नहुने बताएकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी शर्माले वडामा यस्ता अन्य ब्याक्ति भएमा वडा र पालिकाको समन्वयमा आफुलाई खबर गर्न आग्रह गरेकी थिइन् । नागरिकता हस्तान्तरण गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, जिल्ला प्रहरी प्रमुख गोपालचन्द्र भट्टाई, सशस्त्र प्रहरी प्रमुख अशोक लम्साल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतको टोली उनको घरमा पुगेको हो ।

SHARE