भदौ१६,२०७८गुल्मीः गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवीशर्माले जिल्लाका ४ सरकारी कार्यालयको छड्के अनुगमन गरेकी छन् ।
सेवाग्राहीहरुको गुनासालाई मध्येनजर गरेर नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घास, मालपोत, नापी कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा शर्माले छड्के अनुगमन गरेकी हुन् ।
अनुगमनको क्रममा ४ वटै कार्यालयमा पोशाकको पुर्ण पालना नभएको, कार्यालय परिसर सफा नगरिएको र राष्ट्रिय झण्डाको प्रयोग नगरिएको फेला परेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् । शर्माका अनुसार अगुगमनको क्रममा सवैभन्दा बढि लापरवाहीमालपोत कार्यालयमा देखिएको छ ।
शर्माले कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रिय झण्डा राख्ने ब्यवस्था गर्न, कार्यालयको सहायताकक्ष प्रभावकारी रुपमा सञ्चालन गर्न, कार्यालय सरसफाई तथा मर्मत गर्न, हाजिर रजिष्टरमा विदा र काज उल्लेख नगरी लामो समय विदा वस्ने कर्मचारीको लिखित जवाफ पेश गर्न, सवै कर्मचारीले पोशाकको पुर्ण रुपमा पालना गर्न निर्देशन दिएकी छन् ।
त्यस्तै भु–सेवा केन्द्रका सञ्चालकहरुलाई मालपोत कार्यालयसंग अनुमती भए वमोजिम नियमको पुर्ण पालना गराउन र दर्ता भएकै भु–सेवा केन्द्रको भौतिक पूर्वाधारको व्यवस्था गरी वोर्ड राखेर सेवा केन्द्र संचालन गर्न, कामको प्रकृति अनुसार सेवा शुल्क एकिन गरी सेवाग्राहीहरुलाई नगदी रसिद दिने ब्यवस्था मिलाउन र भू–सेवा संचालक र सेवाग्राहीवीच हुने सम्झौतामा शुल्क उल्लेख गर्न शर्माले निर्देशन दिएकी छन् ।
भु–सेवा केन्द्रमा भीडभाड नहुने व्यबस्था मिलाउन र कार्यालयले नियमित अनुगमन तथा नियमन गर्न, सेवाग्राहीवाट गुनासो नआउने गरी सेवा प्रवाहको ब्यवस्था मिलाउन, टेलिकम कार्यालयसँग समन्वय गरी इन्टरनेट सेवाको गति वढाउन,सवारी साधनको विमा तथा नवीकरण गर्न, जिन्सी निरीक्षण गर्न र सूचना अधिकारीले व्यक्तिगत नम्वर नभइ कार्यालयको नम्वर प्रयोग गर्न पनि निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।
त्यस्तै शर्माले बिद्युत कार्यालयमा कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रिय झण्डा राख्ने ब्यवस्था गर्ने,कार्यालय परिसर सरसफाई तथा कार्यालय भवन रंगरोगन गर्न, मुसिकोट नपाको बिद्युत नपुगेका स्थानमा तत्काल बिस्तार गर्न, पोशाकको पुर्ण रुपमा पालना गर्न÷गराउन, विद्युत वितरणमा जोखिम युक्त स्थानको अनुगमन सर्वक्र्षेण गरी मर्मत सम्भार तथा विद्युतका तारहरुको व्यवस्थापन गर्न, २३ जना मिटर रिडरलाई तत्काल प्रक्षिशक्षको ब्यवस्था गरेर मिटर रिडरमा आएको गुनासो समाधान गर्न, दरवन्दी अनुरुप कर्मचारी व्यबस्थापन गर्न निर्देशन दिएकी छन् ।
नापी र खानेपानी डिभिजन कार्यालयमा पोशाकको पुर्ण रुपमा पालना गर्न, कार्यालय परिसरका राष्ट्रिय झण्डा राख्न, कार्यालय सरसफाई गर्न, सवारी साधनको विमा गर्न र जिन्सी निरिक्षण गर्न निर्देशन दिएकी छन् ।