रेसुंगा क्याम्पसका विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण

0
338

भदौ१५,२०७८गुल्मीः गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरुको बारेमा क्याम्पस प्रमुख हरिबहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन्

स्नातक शिक्षा संकायमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुले आफुहरु माथि क्याम्पस घोर अन्याय गरेको भन्दै क्याम्पस प्रमुख खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ‘आगामी समयदेखि क्याम्पसमा विज्ञान विषय अध्यापन नगर्ने, भर्ना यसै क्याम्पसमा गराई अन्यत्र क्याम्पसका शिक्षकहरुद्धारा अनलाईन कक्षा पढाउने तर शुल्क भने यसै क्याम्पसमा बुझाउने लगायतका चर्चाले हामी विद्यार्थीहरुको गम्भिर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।


स्नातक तहको पहिलो वर्ष र दोस्रो वर्षमा शिक्षा संकायको विज्ञान विषय अध्ययन गर्ने ३२ जना विद्यार्थीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विद्यार्थीमाथि आर्थिक भार थप्दै विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेल्ने क्याम्पसको निर्णय सरासर गलत, निन्दनिय र विद्यार्थी हितविपरित भएको उल्लेख गरिएको छ ।

क्याम्पसमा भर्ना भएर अहिले स्नातक तहको पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई काठमाडौं, बुटवल र पाल्पाबाट अनलाइन कक्षा पढाउने बहाना बनाएको, अहिले पढाइरहेका शिक्षकलाई बहिर्गमन गरेको र सम्पूर्ण विद्यार्थीलाई कोरोना साम्य भएको स्थिति पछि पनि अनलाइनको बहाना क्याम्पसले बनाएका कारण आफुहरुले ध्यानाकर्षण पत्र बुझाएको स्नातक तहको प्रथम वर्षमा अध्ययनरत विद्यार्थी सन्तोष महताराले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै क्याम्पस प्रमुख खत्रीले अहिले केही समस्याका कारण अन्यत्रका शिक्षकहरुबाट अनलाइन कक्षा पढाइएको भन्दै कोरोना साम्य भएको स्थितिमा भौतिक रुपमा क्याम्पसमै शिक्षकहरु पढाउने व्यवस्था मिलाउने बताए ।

विज्ञान बिषय अध्यापन गराउने शिक्षकहरुसँग तलबको विषयमा कुरा नमिलेका कारण हाल अध्यापन गराउने शिक्षकहरुले नपढाउने सम्भावना बढेको भन्दै अन्य शिक्षकहरूबाट पढाइ हुने क्याम्पस प्रमुख खत्रीले प्रतिक्रिया दिए ।

SHARE