कालीगण्डकीको भएकोटमा घरमै खानेपानीका धारा पुग्दा स्थानीय खुसी

0
1240

तिलाचन पाण्डे
भदौ१०,२०७८गुल्मीः कालीगण्डकी गाउँपालिका वडा नम्वर दूई भएकोटको तल्लो बस्तीमा एक घर एक धारा आएपछि त्यााँका स्थानीयहरुको दैनिकीमा परिवर्तन आएको छ ।
अहिले घरमै पानीको धारा आएपछि पिउने पानीले निम्त्याएको सबै समस्या हल भएको र सुखका दिन आएको अनुभूती भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । ।
सोही गाउँकी ३७ बर्षीय मञ्जुुकुमारी दर्लामीले अहिले एक घर एक धारा आएपछि पिउने पानीको समस्या समाधान भएको बताइन् । घरमै खानेपानीका धाराहरु आएपछि सरसफाई र तरकारी खेती गर्नेका लागि अहिले कुनै समस्या नभएको उनको भनाई छ ।
पहिले पिउने पानी लिनका लागी मलागिरी लगायत ठूलो धारामा डोकोमा गाग्री बोकेर धाउनुपर्ने अबस्थाको अन्त्य भएको छ । घरमै धारा आएपछि यहाँका महिला दिदी बहिनीहरुले अब तरकारी खेती लगायतका कार्यहरु गरी आयआर्जनमा बृद्धि गर्नका लागि लाग्नुपर्नेमा उनले जोड दिइन् ।
अहिले मलागिरी खानेपानीलाई ब्यबस्थित गरि यहाँका ६४ घरधुरीमा एक घर एक धारा पुगेको स्थानीय समाजसेबी चित्रबहादुर थापाले बताए । ६४ घरमा एक घर एक धारा पुगेपछि स्थानीयहरुमा खुसी छाएको उनको भनाई छ ।

केही माथि १० घरधुरीहरुलाई खानेपानीको समस्या भएकाले सानो बिद्युतीय मटर जडान गरी समस्या समाधान गर्नका लागि पालिकासंग समन्वय भएको थापाले बताए ।
लुम्बिनी प्रदेशसंगको समपुरक कोषबाट ५३ लाखमा उक्त खानेपानी योजना सम्पन्न भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
पालिका भित्रका नागरिकहरुलाई स्वच्छ पिउने पानीको ब्यबस्था गर्नू आफूहरुको पहिलो प्राथमिकता रहेको थापाको दाबी छ । करिब एक हजार पाँच सय घरधुरीमा एक घर एक धाराको माध्यमबाट पिउने पानी पुगेको बाँकी रहेका सबै घरधुरीमा आफनो कार्याकाल भित्रैमा एक घर एक धारा पुर्याउने लक्ष्य रहेको उनको दाबी छ ।
पालिका भित्र धेरै खानेपानीका योजनाहरु निर्माणधिन अबस्थामा रहेको र खानेपानीको पहुँच पुगेपछि सरसफाइ संगै तरकारी खेतीको माध्यमबाट आय आर्जनमा समेत बृद्धि गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

SHARE