पहिरो खसेर राहुघाट नदी थुनियो, सेनाको टोली परिचालन

0
270

भदौ१०,०७८म्याग्दी :रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ।

रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बीचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ। वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिएका छन्‌।

‘करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ’, उनले भने, ‘निरन्तर पहिरो खसिरहेको छ।’

राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो। नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ। तलाउ भरिएर ‘ओभरफ्लो’ हुन थालेपनि जोखिम कायमै रहेको मगरले बताए।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिएका छन्‌।

राहुघाटको तटीय क्षेत्रमा ४८।५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन छ।

बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरीक्षणका लागि पठाइएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए।

SHARE