जिल्ला प्रशासन कार्यालयको अगुवाईमा रिडि बजारको अनुगमन

0
265

रमेश विश्वकर्मा
साउन २२,२०७८ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाइमा जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको मुख्य बजार समेत रहेको रिडि बजारको अनुगमन गरिएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीको नेतृत्वमा रिडि बजारको अनुगमन गरिएको हो ।

घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख लक्ष्मण घिमिरे, ईलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरीक्षक सोभराम बम, रुरुक्षेत्र गाउँपालिकाका सव(इन्जिनियर रोमाकान्त पाण्डे र पत्रकार कृष्ण अन्जान ज्ञवालीले बजारको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा पसलहरुमा मुल्य सूची नराखिएको, खरिद तथा बिक्री बिल नदेखिएको, सुर्तीजन्य पदार्थहरु दर्ता नगरी बिक्री वितरण गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनले रिडि बजारबाट दर्ता नगरिएको २७ हजार बराबरको सुर्तीजन्य पदार्थ बरामद गरिएको बताए । अन्त:शुल्कको कार्यालयमा दर्ता गरेपछी मात्र उक्त सुर्तीजन्य पदार्थहरु फिर्ता गरिने भण्डारीले उल्लेख गरे ।

अनुगमन गर्न गएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी सहितको टोलिले सबै पसलहरुमा मुल्य सुची राख्न, लकडाउन अलि खुकुलो भएको ७ दिनभित्र पसलहरु दर्ता एवम् नविकरण गर्न आग्रह गरेको छ । अनुगमनको क्रममा म्याद नाघेको खाद्यान्न सामानहरु नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

SHARE