सुशीला रेग्मी
रामपुर (पाल्पा), २० साउन : चाउरी परेका गाला, हसिँलो अनुहारमा घरको पिढिँमा टुक्रुस्स बसेर भन्दै थिइन गोरीसरा सारु, ‘हाम्रा जमनामा दुःखका दिन थिए, अबका पुस्ता ती दुःखका दिन सम्झाउँदा पत्याउदैनन्, जमना फेरिदै गयो’ ।
उकाली ओराली गर्दै दुःखका जीवन झेलेकी निस्दी गाउँपालिका ५ ढुङ्गानावेशी बस्ने सारु उमेरले ८२ वर्ष काटिन् । अहिले पक्की सडक जोडिएको घरमा बसेर हिजोका ती दिनलाई स्मरण गर्दै आजको सुख सुबिधा उपभोग गर्न पाउँदा दङ्ग छिन् ।
जीवनको उत्तराद्र्धमा भएपनि आफ्नै हातले स्वीच दबाएर बत्ति बाल्दा उनलाई स्वर्गीय आनान्दानुभती हुन्छ । उनका जमनामा घरमा अध्याँरोमा उज्यालो दिने टुकी बत्ति बाहेक अन्य कुनै उज्यालो माध्यम नै थिएन ।
आजभन्दा करिव एक दशक अघि यहाँका स्थानीयको सक्रियतामा निस्दी लघु जलबिद्युत् आयोजनामार्फत विद्युत्त उत्पादन गरी घर घरमा बत्ति बल्न थालेपछि उहाँ जस्ता उमेरले उत्तराद्र्धमा पुगेकालाई जिउँदै स्वर्ग गएको अनुभुती छ ।
“अध्याँरो हुदा पुराना कपडा च्याती बटारेर चिउरीको तेल हालेर सानो टुकी बालिन्थ्यो, टुकीबाटै जीवन धानियो तर अहिले भने जमना फेरिएछन्, घरभित्र झलझल बत्ति बल्छ, घरको दैलोबाट बाटोमा टेक्यो कि पक्की सडक छ” उनले भनिन् ।
सोही ठाउँकै ७८ वर्षीय लालकुमारी राईले टुकीको भरमा चार सन्तान हुर्काइन । अहिले भने आफैले विद्युत्को प्रयोग गरी खाना पकाउने, बत्ति बाल्ने गर्दा उनलाई कता कता सपना जस्तो पनि लाग्छ । बुढेसकालमा यति धेरै सुबिधा उपभोग गर्न पाउँदा खुशी छिन् । गाउँमा कुटानी पिसानी मिल थिएन, ढिकी जाँतो बिहान सबैरै उठेर गर्नुपर्ने, रातीमा अबेर सम्म पनि घरको धन्दा सकिदैनथ्यो । राईले अध्याँरोमा एउटा हातले काखमा बच्चा च्यापेर अर्को हाँतले टुकी समातेर निकै संघर्षका साथ गृहस्थी चलाइन् ।
उनी भन्छीन्, “छोराछोरीलाई पढाउन बत्ति नहुदा समस्या, एउटा सानो टुकीको उज्यालोमा जीविका चलाइयो, छोराछोरीले राम्ररी पढ्न लेख्न नि पाएनन् अहिलेजस्तो विजुली बत्तिको सुबिधा भए त सबैले राम्रैसंग पढ्थे नि” ।
आफुले प्रयोग गरेको टुकी बत्ति देखाउँदै, “म जवानी हुदै गर्दा बटौली बजार (अहिलेको बुटवल) मा पाँच मोरमा किनेको टुकी अहिले पनि राखिरहेको छु, अहिले यसको प्रयोग नभएपनि नाती नातीनालाई बेला बेलामा झिकेर देखाउने गर्छु” उनले भनिन् ।
त्यही टुकी बत्ति किन्न बटौली बजारमा १९ दिनको पैदल हिडेर पुगेको राईलाई अहिले पनि सम्झना मनमा झलझली आउँछ । टुक्रा पारेर च्यातिएको कपडालाई बटारेर चिउरी पेलेर निकालिएको तेलबाट टुकी बालिन्थ्यो । त्यस समयमा यो नै उज्यालो बत्तिको भरपर्दो माध्यम नै थियो ।
घर घरमा रेडियो, टिभी बजेको देख्दा र सुन्दा मनिसरा बयम्बुलाई हिजोको ती दुःखका दिन सम्झदा अहिलेका पुस्तामाझ एकादेशको कथा जस्तै हुने गरेको छ । आजका पुस्ताले हिजोको पुस्ताका दुःख सुखलाई सुन्न भने चासो दिदैनन् । तैपनि आफ्नो मन हलुको बनाउन बेला बेलामा सुनाउने गर्छिन् ।
उनलाई घरको पिँढीमा बसेर रेडियोमा समाचार, गीत सुन्दा, टिभी हेर्दा, अध्याँरोमा घरै झलमल बनाउने बत्ति बलेको देख्दा गाउँ नै शहर जस्तो लाग्छ ।
यहाँका स्थानीयवासीले आयोजनामार्फत घर घरमा विजुली बत्ति बलेपछि गाउँमा विकासको आधार बनेको महसुस गरेका छन् । आयोजनाबाट विद्युत् सेवा पुगेपछि टिभी हेर्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, रेडियो बजाउन, लेखपढ गर्न सजिलो भएको छ ।
स्थानीयको जनश्रमदान र विभिन्न सरकारी तथा गैह« सरकारी संघ संस्था, स्थानीय समुहको सहयोगमा करिव रु पचास लाखको लागतमा आयोजना सम्पन्न गरी संचालनमा ल्याइएको हो ।
हाल १४८ घरधुरीका स्थानीयले आयोजनामार्फत विद्युत् सेवाको उपभोग गरिरहेका छन् । निस्दीखोलाको घ्याङ्गसरीमा बाँध बाँधेर बलौटे र पन्टारी खेत सिंचाई हुने कुलोबाट पानीको व्यवस्थापन मिलाइ चौध किलोवाट क्षमताको विद्युत् उत्पादन गरी विसं २०६६ मा प्रयोगमा ल्याइएको आयोजनाका अपरेटर गणेश ढुंगाना बताउछन् ।
बत्तीमात्रै बाल्नेले मासिक शुल्क रु एक सय, टिभी, पङ्खा प्रयोग गर्नेले रु १५०, फ्रिज प्रयोगकर्ताले रु २००, आइरन प्रयोगकर्ताले रु २५० कायम गरिएको छ भने तोकिएको मासिक शुल्कमा प्रति युनिट रु पाँचका दरले शुल्क निर्धारण गरिएको अपरेटर ढुंगानाले जानकारी दिए ।
ढुङ्गानावेशी, बडहरे, शनिसौराहा, खहरेखोला, कोल्टारी, मुढाभन्ज्याङ्ग लगायतका गाउँ वस्तीमा आयोजनाबाट विद्युत् सुबिधा पुगेको छ । दैनिक विहान ७ देखि ९ वजे सम्म दुई घण्टा विद्युत् लाइन बन्द हुने र अरु समय नियमित संचालन भइरहेको छ ।
एक दशक अघि केन्द्रिय विद्युत प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयको सक्रियतामा आयोजना संचालनमा ल्याई विजुली बत्ति उपभोग गर्न थालेपछि छोराछोरीको पढाई लेखाईमा धेरै सजिलो परेको स्थानीय आममाँया मश्राङ्गी बताउछिन् ।
विद्युत् सुबिधा पुगेपछि कार्यालयका काम गर्न, खाना पकाउन, गर्मी मौसममा पङ्खा चलाउन, रेडियो, टिभी बजाउने लगायत विभिन्न क्षेत्रमा सुबिधा उपभोग गर्न पाइएको गल्धा सामाजिक महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापक डिलमाया रानाले जानकारी दिइन् ।
“दुई÷तीन महिना अघिमात्रै गाउँमा केन्द्रिय विद्युत् लाइन आएपनि उपभोग गरिएको छैन, दिनमा दुई घण्टा पनि बत्ति आउँदैन, त्यो नि घरी आउने घरी जाने भइरहेको छ, हामीलाई त लघु जलविद्युत् आयोजनाको विजुली नै ठिक छ” रानाले भनिन् ।
यहाँ केही महिना अघि केन्द्रिय विद्युत प्रसारण लाइनको सुबिधा आएपनि नियमितता नहुदा लघु जलविद्युत् आयोजना नै सबैले घर घरमा प्रयोग गरिरहेको राना बताउछिन् ।
आयोजनामार्फत बाह महिना विद्युत् सुबिधा पुगिरहेको छ । विद्युत् सुबिधाले अहिले यस क्षेत्रमा बैंक तथा वित्तिय संस्था संचालन, विद्यालयमा कम्प्युटर लगायतका प्रबिधि प्रयोगमा आएको छ ।
बत्तिमुनीको अध्याँरो जस्तै बनेको यो क्षेत्र सदरमुकाम तानसेन देखि टाढा पर्छ । विद्युत्को पहुँचले अहिले यहाँ फाइवर ईन्टरनेटको सुबिधा हालसालै पुगेपछि कोरोनाको महामारीमा विद्यार्थीले घरमै बसी बसी अनलाईन कक्षामार्फत पठनपाठनको सुबिधा लिन सक्ने प्रेमकान्छा राई मगरले बताएका छन् ।
अझैपनि पाल्पाका ग्रामीण भेगमा केन्द्रिय विद्युत् लाइनको पहुँच पुग्न भने सकेको छैन । केही ठाउँका स्थानीयले भने आफ्नै लगानीमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् सेवा उपभोग गरिरहेका छन् ।