साउन १३,२०७८गुल्मीः गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।
चन्द्रकोट गाउँपालिकाको शान्तीपुरबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तीपुरका अन्दाजी ४५ बर्षका तेजेन्द्रबहादुर खत्री (थापा), वडा नम्वर ५ हरेवाका ४८ बर्षीय रेशम कार्की र रेसुंगा नगरपालिका २की ६८ बर्षीय शुसिला बिकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
जिप चालक चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ का ३५ बर्षीय बमबहादरु बिक , वडा नम्बर ६ की २० बर्षीय बिनिता परियार, वडा नम्बर ४का ३९ बर्षीय गगन क्षेत्री र वडा नम्बर ५ का २२ बर्षीय सुनिल बिकको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै वडा नम्वर ७ का ३३ बर्षीय गोकुल भण्डारी, २३ बर्षीय मुना भण्डारी र रेसुंगा नगरपालिका वडा नम्वर २ की २३ बर्षीय रमिला भण्डारीको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली , शसस्त्रको टोली र नेपाली सेनाको टोली उद्धारमा खटिएको हो । जिप सडकदेखी करिब चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुेलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक तीनैजनाको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।