पूर्व मन्त्री बिष्टको निर्वाचन क्षेत्र, खोलामा पुल नहुँदा यात्रुलाई सास्ती

0
543

सन्तोष महतारा
साउन१०,२०७८गुल्मीः पूर्व मन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा पर्ने व्यस्त सडकमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका हुन् ।

बिष्टको निर्वाचन क्षेत्रमा धेरै आशा गरिएको यो मदन भण्डारी राजमार्गमा सडक पक्की बनेपनि खोलामा पक्की पुल नबन्दा बर्षायामको समयमा यात्रुले सधै हैरानी खेप्नु परेको छ । जिल्लाको मालिका गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका नागरिकले यात्रा गर्दा उक्त सडकखण्डका खहरे खोलामा वर्षेनी सास्ती खेपिरहेका छन् ।
एक झर पानी परिहाल्यो भने त्यस क्षेत्रका खोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेकोले पानी पर्ने वा नपर्ने मौसम हेरेर हिड्नुपर्ने बाध्यतामा रहेको सवारी चालक भीम बहादुर कार्कीले बताए । माथिमाथि ठुलो पानी पर्दा खोला बढेपछि निकै जोखिम मोलेर यात्रा गर्दा यात्रुसहित हामी दैनिक असुरक्षित बन्नु परेको उनले गुनासो गरे ।

तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डका ५ वटा खोलामा पक्की पुल छैनन् । यस सडक खण्डको झर्ना, हुलाके, धनार्जी, फूलबारी र सिलादी गरी कुल ५ वटा खोलामा पक्की पुल नभएका हुन् । यो सडक सर्वसाधरण मात्र हिड्ने सडक होइन । मालिका गाउँपालिकाका जनप्रतिनिधि, मदाने गाउँपालिकाका जनप्रतिनिधि, इस्मा गाउँपालिकाका जनप्रतिनिधि र विकल्प भएपनि धुर्कोट गाउँपालिकाका जनप्रतिनिधि समेत हिड्ने सडक हो । तर, अहिलेसम्म कसैले पहलकदमी काम भने गर्न सकेका छैनन् ।

मालिका गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले यस्तो संवेदशिल कुरामा संघिय सरकार गम्भीर नबन्नु दुखद भएको बताए । “यस्ता ठुला आयोजनाका काम संघिय सरकार मार्फत हुने गर्दछन् ।” गाउँपालिकाका अध्यक्ष थापाले भने, “खोलामा पुल नहुदाँ एक्कासी बिरामी परेका र दुर्घटनामा परेकाहरुले समयमा उपचार पाउन नसक्दा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ ।”
स्थानीय सरकारले यस्ता ठुला योजनाहरुको काम गर्न नसक्ने भन्दै संघिय सरकारले खोलामा पुल नबन्दा बिरामीको ज्यान जाने कुरालाई प्राथामिकतामा राख्न नसक्नाले आफुसहित मालिकावासी दुखी भएको अध्यक्ष थापाले प्रतिक्रिया दिए ।

मदन भण्डारी राजर्माग आयोजना कार्यालय गुल्मीका प्रमुख सशांंक मिश्रले यस आर्थिक वर्षमा ५ वटा पक्की पुलका लागि ठेक्का हुने बताएका छन् । पक्की पुलको लागि पक्रियाहरु अगाडि बढाएर यस वर्ष ठेक्का हुने भनाई छ । सडक बनेको ३० वर्षपछि पक्की सडक भएको मदनभण्डारी राजमार्गको यो खण्डमा अझै पक्की पुल बन्न सकेका छैनन् ।

SHARE