खोपको आशले निराश : गुल्मीमा १८ हजार बढी दोस्रो डोजबाट बञ्चित

0
520

टोपलाल अर्याल
गुल्मी, ९ साउन
अहिले कोभिड १९ बिरुद्ध खोप लगाउन मरिहत्ते गर्नुपर्छ । तर, खोप पुरा नभएकाहरुलाई अर्कै पिरलो थपिएको छ । जिल्लामा फागुन तेस्रो साता कोभिडशिल्ड पहिलो डोज लगाएका १८ हजार बढिले दास्रो डोज पाएका छैनन् ।

कोभिडकै कारण कैयनले ज्यान गुमाइरहेका छन् । गुल्मीमा समेत ९१ जनाले कोभिड १९ कै कारण ज्यान गुमाए । कोभिड १९ को औषधी छैन । बच्ने पहिलो उपाय आफै सुुरक्षित रहने हो । भने अर्को उपाय खोप हो । कोभिड १९ बिरुद्धको खोप बनेपछि नागरिकमा बाँच्ने आशा र आत्मवल थपिएको छ । नेपालले एकैचोटी सवै नागरिकलाई खोप दिने स्थिती छैन् । जसका कारण बिभिन्न बर्ग विभाजन गरेर खोप अभियान संचालन भए । जसमा ६५ बर्ष माथिका जेष्ठ नागरिक सरकारको प्राथमिकतामा परे ।
सोहि अनुसार गुल्मीमा ०७७ फागुन तेस्रो साता खोप अभियान संचालन गरियो । प्रत्येक स्थानीय तहमा कोभिडशिल्डको पहिलो डोज लगाइयो । तर, चार महिना बिते खोपको अर्को डोज लगाउन पाएका छैनन् । जिल्लाका १७ हजार ९ सय १ जना ६५ बर्ष माथिका जेष्ठ नागरिकले कोभिड १९ बिरुद्धको कोभिडशिल्डको दोस्रो डोज नपाएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जिल्लामा कोभिडशिल्ड र भसोशिल्ड गरेर २ थरिका खोप अभियान संचालन भएका छन् । भेरोशिल्ड लगाउनेहरुले अर्को डोज पनि पाएका छन् । तर, कोभिडशिल्ड दोस्रो डोज भारतबाट आउन बन्द भएका कारण बृद्धबृद्धासहित ठुलो संख्याका नागरिक पुरा खोप लगाउनबाट बञ्चित छन् । सामान्यतया पहिलो खोप लगाएको दुई महिनाभित्र दोस्रो खोप लगाउनुपर्छ । तर, चार महिनासम्म जेष्ठ नागरिक खोपबाट बञ्चित भएको सूचना अधिकारी आचार्यले बताए ।

पहिलो खोपको अवको अवस्था र अन्य उपायको बारेमा कार्यालयले बिशेषज्ञहरुसंग समन्वय गरिरहेको उनको भनाई छ । सरकारले जेष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको पहिलो खोप मात्रै लगाएर लामो समय वास्था नगरेको इस्मा गाउँपालिका ४ की ७५ बर्षीया धनकला अधिकारीले गुनासो गरिन् । ‘सरकारले धोका दियो, जोखिम झन बढायो,’उनले भनिन,‘आशैआशमा चार महिना बिते अब खोप पाउनु र लगाउनुको के अर्थ ।’ गत फागुन तेस्रो साता ६५ बर्ष जेष्ठ नागरिकले मात्रै पहिलो खोप लगाएका थिएनन् । शव व्यावस्थापन गर्ने एम्बुलेन्स चालक ५ जना, महिला स्वास्थ्य स्वयसेविका ७४ जना, शव व्यावस्थापनमा खटिने सुरक्षाकर्मी १ सय १६ जना, स्वास्थ्यकर्मी ५० जना, बृद्धाश्रमका बृद्धबृद्धा, कैदीबन्दी र फोहोर व्यावस्थापनकर्मीहरुले कोभिडशिल्डको दोस्रो डोज नपाएको स्वास्थ्य कार्यालय गुल्मीका सहजकर्ता सुजन ढकालले जानकारी दिए ।

पहिलो प्राथमिकतामा परेका ६५ बर्ष माथिका जेष्ठ नागरिकसहित ५ सय १ अरु बिभिन्न क्षेत्रका व्यक्तिहरु गरेर १८ हजार ४ सय २ जनाले दोस्रो खोप लगाउन नपाएको ढकालले बताए । पहिलो खोप लगाएको लामो समय अर्को डोज नपाएपछि निकै अन्यौल भएको पत्रकार महेश बोहोराले बताए । ‘डाक्टरहरुले पनि वास्तविक उत्तर दिन सक्दैनन् । पहिलो खोप कोभिडशिल्ड लगाएँ समयमै अर्काे पाइएन,’उनले भने,‘अझै कोभिडशिल्डकै प्रतिक्षा गर्ने वा दुवै डोज भेरोशिल्ड लगाउने निकै गाह्रो बनायो ।’ स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लामा खोप लगाउने १ लाख ४७ हजार १ सय ५५ जना १८ बर्ष माथिका नागरिक छन् । अहिलेसम्म ४३ हजार ३ सय १८ जनाले खोप लगाएका छन् । भने, अझै १ लाख ३ हजार ८ सय ३७ जना खोप लगाउन बाँकी रहेका छन् ।

SHARE