गुल्मीमा २० रुपैयाँको आयोडिन नुन २५ रुपैयाँमा बिक्री

0
839

साउन६,२०७८गुल्मीः सदरमुकाम तम्घासका खाद्य पसलहरुमा २० रुपैयाँ पर्ने आयोडिन नुनलाई २५ रुपैयाँमा बिक्री वितरण गर्दै आएको खुलेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको अगुवाइमा तम्घासका पसलहरुमा अनुगमन गर्न यस्तो पाइएको हो । आयोडिन नुनको प्याकेटमा एमआरपी मुल्य २० रुपैयाँ रहे पनि २५ रुपैयाँमा बिक्री वितरण गर्दै आएको पाइएको हो ।
यस्तै भाडा पसल भनेर दर्ता गरेपनि उनीहरुले हार्डवयरका सामानहरु पनि राखेर बिक्री वितरण गर्दै आएको पाइएको छ । तम्घासको भाडा पसलमा हार्डवयरका सामानहरु काटी ,किला र रङ रोगनका सामानहरु राखेर बिक्री वितरण गर्दै आएको पाइएको हो ।
तम्घासका पसलहरुमा मूल्य सूचि नराख्ने, एउटै पसलमा खाद्य सामग्री ,फलफुल , दुध दही लगायतका सामानहरु राखेर बिक्री वितरण गर्दै आएको र दर्ता नै नगरी पसल संचालन गरेको अनुगमनका क्रममा पाइएको हो । खाद्य सामग्रीहरुको मूल्य पसल अनुसार फरक फरक पाइएको गुनासो आएपछि बजार अनुगमन गरिएको हो ।
यस्तै मुवाइल सर्बिस सेन्टरले मोवाइल मर्मत गर्ने गरी दर्ता गरे पनि यहाँ मोवाइलका सेटहरुपनि बिक्री वितरण गर्दै आएको पाइएको छ ।
यता गुल्मी उद्योग बाणिज्य संघका महासचिब ताराप्रसाद भुसालले आयोडिन नुन भैरहवामै होलसेल मूल्य बीस रुपैयाँ पर्ने बताए । भैरहबाबाट गुल्मीसम्मको ढुवानी,लोड अनलोड गर्दा करिब २३ रुपैयाँ पर्न आउने बताउनुभयो । घाटा खाएर ब्यापारीहरुले सामान बेच्न नसक्ने उनको तर्क छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले पसलहरुमा मूल्य सुचि नराख्ने र मापदण्ड विपरीत बिक्री वितरण गर्नेलाई सचेत गराइएको बताए ।
दर्ता नगरी संचालन गरेका पसलहरुलाई एक हप्ता भित्र दर्ता गर्नका लागि समय दिइएको घिमिरेले बताए । अन्तिम पटक भन्दै उनीहरुलाई सचेत गराइएको र यस पछि पनि सुधार नभए कानुन अनुसारको कारवाही गरेरै छाड्ने उनले दाबी गरे ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ,नेपाल प्रहरी लगायतको उपस्थिती रहेको थियो ।

SHARE