
गीता बस्याल
साउन६,२०७८गुल्मीः जिल्लाको धुर्कोट गाउँपालिकाले छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेब गाउँपालिकालाई सुन्तलाका बिरुवा उपहार स्वरुप प्रदान गरेको छ ।
नयाँगाउँमा रहेको नर्सरीमा तयार भएका पाँचसय सुन्तलाका बिरुवा उपहार स्वरुप छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेललाई प्रदान गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
सुन्तलाका बिरुवा नै उपहार स्वरुप प्रदान गर्दा त्यसले दिगोपना ल्याउने र ब्यबसायीकतामा समेत ध्यान जाने पोखरेलको दाबी छ ।
अन्तर स्थानीय तह बिच अनुभब आदान प्रदान, पुर्वाधार ,पर्यटन , स्थानीय पाठ्यक्रम र शिक्षामा गुणस्तर कायम गर्नका लागि भएका प्रयासका बारेमा पनि छलफल भएको धुर्कोट गाउँपालिकाले जनाएको छ ।
सुन्तलाको पकेट क्षेत्र भएको धुर्कोट गाउँपालिकाको नयाँगाउँका बिरुवाहरु स्वच्छ भएकाले फलफुल उपहार भन्दा पनि बिरुवा नै प्रदान गर्दा दिगोपना आउने बिश्वास लिएको छ ।
दुई स्थानीय तह बिच अनुभब आदान प्रदान भएको र धुर्कोट गाउँपालिकाले गरेका कार्यहरुबाट धेरै सिक्ने अबसर पाएको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताए ।
दुई पालिकाका अध्यक्षहरु बिचको भेटघाटले दुई जिल्ला र पालिका बिचको सम्बन्ध अझै प्रगाण बनेको गाउँपालिकाका अध्यक्षहरुले बताएका छन् ।
सो कार्यक्रममा छत्रदेब गाउँपालिकाका अगुवा शिक्षक कैलाश श्रेष्ठ,अगुवा कृषक तेजेन्द्र श्रेष्ठ र अध्यक्ष लेखनाथ पोखरेललको उपस्थिती रहेको थियो ।








