इलाका प्रशासन कार्यालय रामपुर चैतदेखि प्रमुख विहीन, सेवाग्राही मर्कामा

0
689

सुशीला रेग्मी
साउन६,२०७८: इलाका प्रशासन कार्यालय रामपुरमा कार्यालय प्रमुख विहीन हुँदा नागरिकले सेवा पाएका छैनन् । कार्यालय प्रमुख नहँुदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य भएका छन् ।
यहाँ २०७७ चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा गएपछि त्यस समय देखि कार्यालयमा प्रमुख नहुँदा नागरिकले सेवा लिन नपाएको गुनासो गरेका छन् ।
अहिलेको अवस्थामा पनि सदरमुकाम तानसेनमै सेवा लिन जानुपर्दा आउन जानको लागि सडक समस्या, खर्चिलो हुने हुँदा नागरिकले कार्यालय प्रमुख नहुदा निकै सास्ती बेहोर्नु परेको रामपुरका शिवकुमारी वाग्ले बताउछिन् ।
“सिंहदरबारको अधिकार गाउँ गाउँ भनेपनि बेला बेलामा कर्मचारी समस्याले हामी गाउँका नागरिकले समस्या भोग्नु परेको छ, वर्षायामको समय सदरमुकाम आउन जान सडक भत्किने, पहिरोको समस्या, अर्कोतर्फ सदरमुकाम सम्म आवतजावतको खर्चले नागरिक मारमा परेका छन्” उनले भनिन् ।
अत्यावश्यक सेवा बाहेक अभिलेख राख्ने, दर्ता चलानी, अनुसुची भएकोमा सनाखत गर्ने, रजिष्टरमा लेख्ने, कार्यालय रेखदेख लगायतको काम भने यथावत नै चलिरहेको छ ।
गृह मन्त्रालयको २०७७–१२–१६ को निर्णयानुसार निजामति सेवा ऐन २०४९ को दफा १५ (१) बमोजिम भगवान भक्त अर्याललाई इलाका प्रशासन कार्यालय रामपुरको प्रमुखका रुपमा पदस्थापनको जिम्मेवारी तोकिएको थियो । तर अहिले सम्म उनी कार्यालयमा आउने नआउने सम्बन्धमा जानकारी केही नभएको कार्यालयका खरिदार कर्मचारी आशिष श्रेष्ठ बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले पटक पटक इलाका प्रशासनमा कर्मचारी पठाउन खोजिएको तर सरुवा भएका कर्मचारी जान नमानेपछि समस्या भएको बताउछन् ।
कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको पाण्डेको दाबी छ ।
“कार्यालय प्रमुखमा हाल निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान भक्त अर्यालको दरबन्दी परेको छ, अर्याल आफैले पहिला रामपुरमा सरुवाको माग गर्नुभयो तर अहिले उहाँले जान नमानेपछि कार्यालय प्रमुखको समस्या परेको छ, अब हामी नियमित हप्तामा एक पटक कार्यालयबाट सेवा दिने प्रयासमा लाग्ने छौ” प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।
आर्थिक वर्षको अन्तिम समयमा गत असार १० गते जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई आर्थिक कारोबार संचालन गर्ने गरी कार्यभार तोेकेर काम गरेको छ ।
पूर्वी पाल्पावासीलाई सहज सेवा उपलब्ध दिने उद्धेश्यले स्थापना गरिएको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
यसभन्दा अगाडी यहाँको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुदा बखत मंगलवार र बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर नागरिकता, द्रुत पासपोर्ट सेवा, जनजाती प्रमाणित, नाबालक परिचय पत्र, संस्था नविकरण लगायतका सेवा दिने गरिएको थियो । तर अहिले भने सो व्यवस्था नहुदा अझैपनि सदरमुकाम तानसेनमै जानुपर्ने समस्या हट्न सकेको छैन ।
यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा उपभोग गर्न पाउँनेछन् ।
यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगी सहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायव सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सह–लेखापाल, एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ ।
हाल यस कार्यालयमा स्थायी दरबन्दीमा एक जना खरिदार कर्मचारी, करारमा एक जना कम्प्युटर अपरेटर, दुई जना कार्यालय सहयोगी रहेका छन् । सह–लेखापाल श्रीकृष्ण न्यौपाने गत फागुन ७ गते सरुवा भएर काठमाण्डौँ गएपछि मालपोत कार्यालयका कर्मचारी सुरेशप्रसाद गैरेले मालपोत र ईलाका प्रशासन कार्यालयमा दोहोरो सेवा दिदै आएका छन् ।
जिल्ला सदरमुकान तानसेन देखि झण्डै ६५ किलोमिटर पूर्वका जनतालाई सेवा दिने उद्धेश्यले विसं २०६३ असार १० गते तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गरेका थिए ।

SHARE