साउन१,२०७८ गुल्मीः जिल्लाको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले गुनासा प्रकट गरेका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर चारका कृष्ण थापाले बजारमा जडान भएका सडक बत्तीको उचित ब्यबस्थापन नभएको भन्दै ब्यबस्थापनमा स्थानीय सरकारको ध्यान नगएको गुनासो गरे । यस्तै थापाले सडक विस्तार गर्दा खानेपानीका पाइपहरुको ब्यबस्थापन नभएको र गाउँपालिका क्षेत्र भित्रै रहको हाइड्रोपावर रहँदा पनि बत्ती मुनीको अध्यारो जस्तै लोडसेडिङको मारमा पर्न बाध्य भएको बताए ।
गाउँपालिकाले गुरुयोजना बनाएर अगाडी बढेन
मजुवाका चिरन अर्यालले गाउँपालिकाले अल्पकालीन र दीर्घकालिन योजना(गुरुयोजना) बनाएर अगाडी नबढेको बताए । गाउँपालिकाको बिकासका निम्ती खाका तयार नहुँदा अन्योल जस्तै भएको उनको गुनासो छ ।
उनले कोभिड रोकथाम तथा नियन्त्रण गर्नका लागि आफूले अक्सिजन सहयोग गर्छु भन्दा पनि समन्वयमा गाउँपालिकाले वास्था नगरेको आरोप लगाए ।
जनप्रतिनिधि नै सार्वजनिक सुनुवाईमा उपस्थित नभएको गुनासो
चन्द्रकोट गाउँपालिका ८का रमेश भण्डारीले जनप्रतिनिधिहरु नै सार्वजनिक सुनुवाईमा उपस्थित नहुँदा सार्वजनिक सुनुवाइको महत्वमा कमी आएको बताए । उनले जनप्रतिनिधिहरु नै कार्यक्रममा नआउँदा केही शंका उत्पन्न भएको गुनासो गरे ।
गाउँपालिकाले बिकास निर्माणका काममा प्रभावकारी अनुगमन नगरेको र स साना टुक्रे योजनामा बजेट विनियोजन गर्ने गरेको बताए । बजारमा दैनिक उपभोग्य सामग्रीहरुको मूल्य पसलै पिच्छे फरक भएको भन्दै यसलाई नियन्त्रण र एकरुपता कायम गर्न उनले आग्रह गरे ।
यस्तै कार्यक्रममा स्थानीय बिवेक क्षत्रीले १५ बर्ष देखि २१ बर्ष उमेर समुहका किशोर किशारीहरु कुलतमा फस्ने गरेकाले यसको रोकथामका लागि ध्यान दिन आग्रह गरे ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले केही जनप्रतिनिधिहरुका इमरजेन्सी काम परेका र केही बिरामी भएर आउन नसकेको जानकारी प्राप्त भएको बताए ।
अनुगमनलाई प्रभाबकारी बनाउनका लागि र दैनिक उपभोग्य बस्तुहरुको मूल्यमा एकरुपता कायम गर्नका लागि अबिलम्ब लाग्ने गाउँपालिकाकी उपाध्यक्ष राधिका अर्यालले बताइन् । बिकास निर्माणका कार्यहरुमा पहिले अनुगमन गरेर मात्र भुत्तानी दिने गरेको भन्दै अनुगमनलाई अझै प्रभावकारी बनाइने उनले बताइन् ।
यता गाउँपालिकाका अध्यक्ष द्धोर्ण खत्रीले सडक विस्तार गर्दा खानेपानीको पाइपहरुलाई ब्यबस्थापन गरिने बताए । सडक बत्तीहरुलाई अब स्थानीय टोल बिकास समिति गठन गरी समिति मार्फत संचालन गर्ने योजना रहेको उनको भनाइ छ ।
कोभिड नियन्त्रण गर्नका लागि अक्सिजन सिलिन्डर आफूहरुसंग प्रयाप्त रहेको बताउदै खत्रीले कोभिड नियन्त्रण गर्नका लागि आफूहरुले पहिलो प्राथमिकता दिएको बताए ।
गाउँपालिकाको चौतर्फी बिकासका लागि सबै नागरिकहरु लाग्नुपर्ने बताउदै उनले आगामी साउनदेखि आवधिक योजना बनाएर अगाडी बढने दाबी गरे ।
चन्द्रकोट गाउँपालिकाको आयोजनामा नेपाल पत्रकार महासंघ गुल्मीले कार्यक्रमको सहजीकरण गरेको थियो ।